काठमाडौँ, २० कात्तिक ।
पञ्चायकालीन समयमा बामपन्थी नेताहरुलाई आश्रय दिने ९१ वर्षीय रनधता पोखरेलको निधनप्रति शीर्ष नेताहरु, मन्त्रीसहितले श्रद्धाञ्जली दिएका छन ।
पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलकी आमा रनधतालाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा आज बिहान नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरे, एमाले सचिव भानुभक्त ढकाल, पूर्व मन्त्री पार्वत गुरुङ, संघीय संसदका सांसदहरु, प्रदेशसभाका सदस्यहरु, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्का, एमाले केन्द्रीयस्तरका नेताहरु पुगेका थिए ।
अध्यक्ष ओलीले दिवंगत पोखरलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिए । पोखरेलको भक्तपुरको लोकन्थलीस्थित निवासमा बिहीबार साँझ निधन भएको थियो ।
पञ्चायतलमा भूमीगत राजनीतिक आन्दोलनमा रहेका वर्तमान नेकपा (एमाले) अध्यक्ष ओली, पूर्व उपाध्यक्ष ईश्वर पोखरेल, नेताहरु अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायत नेताहरुलाई आश्रय दिएकी थिइन ।
उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ। पूर्वमन्त्री पोखरेल उनका जेठा छोरा छन । रनधताका दुई छोरा तीन छोरीमध्ये एक छोरीको निधन भइसकेको छ ।


