गाजा सिटीमा इजरायली सेनाको सैन्य अभियान सुरु हुँदै गर्दा हमासले प्रचारात्मक तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिरमा गाजा पट्टीमा बाँकी रहेका ४८ बन्धकलाई देखाइएको छ जसमा नेपालका विपिन जोशीको तस्बिर पनि छ। लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै उक्त तस्बिर सार्वजनिक गरेको हो।
इजरायली टाइम्सका अनुसार सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन्। तर को जीवित र कसको निधन भएको भन्ने खुलेको छैन।
हाल गाजा पट्टीका आतङ्कवादी समूहहरूको नियन्त्रणमा ४८ जना बन्धक रहेका छन्। तीमध्ये कम्तीमा २६ जनाको मृत्यु भइसकेको इजरायली सेनाले पुष्टि गरेको छ। करिब २० जना जीवित रहेको अनुमान छ भने अन्य दुई जनाको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ।
