सुदन सुवासश्री
काठमाडौं, असोज ४ । जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सत्ताबाट पनि हटाउन लिखित प्रस्ताव गरिने संकेतहरु देखिएका छन् ।
नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर आएका एमालेका अध्यक्ष ओलीलाई पार्टीका नेताहरुले अध्यक्ष छोड्न दबाब दिइरहेका बेला केही नेताहरुले लिखित रुपमा प्रस्ताव गर्न लागेका छन् । यद्यपि यो विषय औपचारिक रुपमा बाहिर आएको छैन ।
नेकपा एमालेका सचिव योगेश भट्टराई सहितका युवा नेताहरूले पार्टी नेतृत्वबारे नयाँ ढंगले अगाडि बढ्नुपर्ने अभिव्यक्ति सार्वजनिक रुपमा दिइरहेका छन्
पार्टीभित्र र सरमारमा ओलीको कार्यशैली, व्यवहार र विवादका कारण सरकार गुमाउनुपरेको अवस्थामा पार्टीलाई समेत ठूलो क्षति भएको भन्दै नेताहरुले लिखित प्रस्ताव गरिरहेका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराई सहितका युवा नेताहरूले पार्टी नेतृत्वबारे नयाँ ढंगले अगाडि बढ्नुपर्ने अभिव्यक्ति सार्वजनिक रुपमा दिइरहेका छन् ।
ललितपुरको गोदावरीमा हालै दोस्रो विधान महाधिवेशन गरेको भोलिपल्टै जेनजी आन्दोलनले नेपालको सत्ता नै उलपुलट गराएको थियो । महाधिवेशनले ओलीकै नेतृत्वमा एमाले सँगसँगै देशलाई अगाडि बढाउने निष्कर्ष निकालेको बेला सत्ता उलटपुलट भएपछि परिस्थिति बद्लिएको छ ।
एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, नेताहरू कर्णबहादुर थापा र गोकुल बाँस्कोटा लगायत ओलीको विकल्प खोज्नुपर्ने पक्षमा अभिव्यक्ति दिइरहेका छन् ।
