काठमाडौं , असाेज ५
गृह एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले असोज ५ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सोही अवसरमा भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा दिवंगत सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै घाईते नागरिक तथा सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे।
मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै मुलुकमा देखा परेका विभिन्न अप्ठ्यारा परिस्थितीहरुमा आईपरेका चुनौतीहरुलाई परास्त गरी राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सुरक्षा निकायको रुपमा स्थापित गराएको चर्चा गरे। उनले आगामी निर्वाचनमा पूर्ण तयारी र योजनाका साथ परिचालित भई कार्य सम्पन्न गर्न सफल हुने समेत बताए ।
उनले नेपाली जनताको जीवन रक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले समेत राम्रोसँग बुझेका छन् भन्ने कुरामा विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत कार्यक्षेत्रमा थप हौसलाकासाथ परिचालित हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षा अनुरुप सुरक्षा प्रदान गर्दै आईरहेको बताए। संगठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचालित हुँदै आईरहेको उनले बताए।
उनले राजश्व चुहावट नियन्त्रण र वैध व्यापार प्रवद्र्धन मार्फत राज्यको अर्थतन्त्रमा योगदान पु¥याउन सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै सीमा क्षेत्रमा आवश्यक जनशक्ति र बिओपीको संख्या बृद्धि गर्नसके उल्लेखित उपलब्धिमा थप उल्लेखनिय बृद्धि हुने विश्वास व्यक्त गरे ।
महानिरीक्षक अर्यालले संगठनले सुशासन र नैतिक शासनलाई प्राथमिकतामा राखि नागरिकलाई सुरक्षित अनुभव गराउने कार्यशैली अपनाउँदै परिचालित हुँदै आईरहेको र आगामी घोषित आम निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले आन्तरिक शान्ति सुरक्षा कायम गर्ने भूमिका निर्वाह गर्न पूर्ण प्रतिवद्ध रहेको समेत बताए।
निरीक्षणका क्रममा मन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरे ।
कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।
कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको सह प्रबक्ता डिणएसपि शैलेन्द्र थापाले जानकारी दिए ।
