काठमाडौं, असोज ५
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो पटक काठमाडौं–ग्वाङ्जाउ–काठमाडौं सिधा उडान सेवा सुरु गर्ने भएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार यो सेवा आगामी असोज ९ गतेदेखि प्रारम्भ हुनेछ। निगमले हरेक हप्ता तीन वटा नियमित उडान गर्ने तालिका तय गरेको छ।
पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय भएको छ। त्यसपश्चात् प्रत्येक आइतबार, मंगलबार र शनिबार ग्वाङ्जाउतर्फ सिधा उडान हुनेछ। काठमाडौंबाट ग्वाङ्जाउसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ।
अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताए। निगमले निकट भविष्यमै काठमाडौंबाट कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।
हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र वैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ।
