काठमाडौं, असोज ७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक माध्यमिक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने निर्णय गरेका छन् ।
माध्यमिक विद्यालयका विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको उनले जनाएका छन्।
त्यस्तै केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न ८ महिना देखि १ वर्षसम्म ढिलाइ गर्ने गरेको गुनासो आउँदै आएकोमा अब बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका छन्।
समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी समेत उनले दिएका छन्।
त्यस्तै उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्रको ठुलो क्षेत्रफलमा रहेका झाडी फाँडेर (ठूला रुख नकटाई) सफा गरी सुन्दर बगैंचा र फुटपाथ निर्माण गर्न निर्देशन दिएका छन्।
मन्त्रालयले यी तीन कदमलाई शिक्षाको गुणस्तर, समय व्यवस्थापन र शैक्षिक संस्थाको वातावरण सुधारमा महत्त्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।
