काठमाडौं, असोज १२
नेकपा (एमाले) ले वर्तमान सरकारले राजनीतिक प्रतिशोधलाई प्रोत्साहन गर्ने कदम चालेको आरोप लगाएको छ। आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकका निर्णयबारे जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले विपक्षी नेतामाथि अनावश्यक दवाव सिर्जना गरेको बताए।
पार्टीले जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगले असोज १२ गते अध्यक्ष केपी शर्मा ओलीसहितका नेताको राहदानी रोक्का गर्न गरेको सिफारिसप्रति ‘गंभीर आपत्ति’ जनाइएको छ।
वक्तव्यमा दशैँको अवसर पारेर गरिएको यस्तो कदमले आयोगकै विश्वसनीयतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ।
त्यस्तै, गृहमन्त्रालयले भदौ २४ का घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान नगर्न नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि पार्टीले असन्तुष्टि जनाएको छ। उक्त निर्देशनले अपराध अनुसन्धान गर्ने प्रहरीको कानुनी अधिकार खोस्ने मात्र नभई दोषीलाई उन्मुक्ति दिने उद्देश्य लिएको एमालेको आरोप छ।
पार्टीले पछिल्ला घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा केन्द्रीय कमिटीको दशौँ बैठक बस्ने जनाएको छ। त्यसअघि असोज १९ र २० गते काठमाडौँमा सचिवालय बैठक बस्ने पनि निर्णय भएको छ।
जाचबुझ अयोगले पूर्व प्रधानमन्त्री ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेसंग नेकपा एमालेको यस्तो धारणा आएको हो। पासपोर्ट रोक्काको सूचीमा पर्नेहरूमा पूर्व प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
