काठमाडौँ, असोज १३
नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दु धर्मावलम्बीको महान् चाड विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, स्वास्थ्य, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
सोमबार जारी शुभकामना सन्देशमा उनले नेपाली जनताले सङ्घर्ष र आन्दोलनमार्फत हासिल गरेका उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दा आत्म समीक्षासहित सम्बोधन गर्नुपर्ने जटिल राजनीतिक परिस्थितिमा मुलुक रहेको बताएका छन्।
‘प्रत्यक्ष निर्वाचित कार्यकारीसहित संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा फेरि मुखरित भएका छन्। यस परिस्थितिमा हाम्रो पार्टी अग्रगामी रूपान्तरणतर्फ अघि बढ्न प्रतिबद्ध छ,’ दाहालको वक्तव्यमा भनिएको छ।
उनले जेन–जी पुस्ताले उठाएका मागलाई आत्मसात् गर्दै सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु भएको उल्लेख गरेका छन्। हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गर्दै आगामी मङ्सिरमा विशेष महाधिवेशनमार्फत जेन–जीसहित युवाको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी भइरहेको दाहालले जानकारी दिएका छन्।
शुभकामना सन्देशमा दाहालले दसैँजस्ता पर्वहरूले सामाजिक सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, उनले नेपाली समाजलाई सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माणतर्फ अघि बढाउने सङ्कल्पका साथ पर्वहरू मनाउन आह्वान गरेका छन्।
