काठमाडौं, असोज १३ । भदौ २३ अर्थात् सेप्टेम्बर ८, नेपालको इतिहासमा युवाहरू अभूतपूर्व आन्दोलन गरे । आन्दोलनलाई सरकारले दमन गर्यो । सरकारी दमनबाट घटनास्थलमा १९ जना र त्यही क्रममा अहिले ७३ जनाको मृत्यु । भदौ २३ गतेको आन्दोलन भड्किदा करिब २७ घण्टामा काँग्रेस–एमालेको करिब दुई तिहाइ नजिक बलियो गठबन्धन सरकार ढल्यो ।
जेन–जीको माग सुन्न पनि तयार नभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आन्दोलनले प्रधानमन्त्रीबाट बहिर्गमन गरायो । जेन–जीको आन्दोलनलाई कम आँकेका उनी सरकारले बन्द गरेका सामाजिक सञ्जाल खोल्नुपर्ने पहिलो माग सुन्नै तयार थिएनन् । जेन–जीको आन्दोलनलाई उल्टै खिल्ली उडाउँदै गए । जेन–जीको आन्दोलन चर्किएपछि काँग्रेस–एमाले गठबन्धन सरकार जेनजीको आन्दोलनले ढल्न पुग्यो ।
सुरुमा डिजिटल माध्यमबाट आगोको झिल्कोजस्तै फैलिएको जेन–जीको आन्दोलन भदौ २३ गते काठमाडौंको माइतीघरबाट सुरु भएको थियो । आन्दोलन बढ्दै गएपछि सरकारले युवामाथि गोली चलाउँदा २३ गते १२ नबज्दै १९ प्रदर्शनकारीको मृत्यु भयो भने चार सयभन्दा बढी घाइते भए । त्यसपछि जेन–जीको आन्दोलन दिनभर उत्कर्षतिर उक्लिँदै गयो । भदौ २४ गते अपराह्न २ बजेपछि प्रधानमन्त्री ओली प्रधानमन्त्री पद छाड्न बाध्य भए ।
स्थानीय प्रशासनले भदौ २४ बिहानदेखि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा अनिश्चितकालकालागि कर्फ्यु जारी ग¥यो । तर जेन–जीहरूको आडमा केही अराजक भीड भदौ २४ बिहानैदेखि सडक प्रदर्शनमा निस्कन सुरु गरिसकेका थिए । मध्याह्नसम्म काठमाडौं उपत्यकाका सबै सडकमा आन्दोलन चर्किइसकेको थियो । त्यति बेला सरकारका सुरक्षा निकाय पछि हटिसकेका थिए ।
आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री ओलीले बेलुका ६ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरे । तर राजनीतिक दलका नेताहरू केन्द्रित आक्रमण हुन थालेपछि सर्वदलीय बैठक सम्भव भएन । आन्दोलन चर्किँदै गएपछि जेन–जी पुस्ता पुराना राजनीतिक दलको कुनै पनि कुरा सुन्ने पक्षमा देखिएनन् । यसअघि भदौ २४ बिहान साढे ९ बजे माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकमा विपक्षी दलले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गरेका थिए । उनले आफूले सरकार सम्हाल्नुपर्ने परिस्थिति बन्दै गएको आँकलन गरेका थिए ।
जेन–जीको आन्दोलन उत्कर्षमा पुगेपछि ओलीले २ बजेर २४ मिनेटमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र बुझाएका थिए । उनले मुलुकको असहज परिस्थिति उत्पन्न भएको भन्दै राजीनामा दिएको बताए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेका थिए ।
त्यस बेलासम्म संसद् भवन बानेश्वर, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, सर्वोच्च अदालत लगायतका भवनमा आगो लगाइसकिएको थियो । राजीनामा दिएर उनी सरकारी निवास छाडेर सुरक्षित स्थानतिर लागिसकेका थिए ।
त्यही क्रममा नयाँ सरकार बन्ने वा नबन्ने अन्योलको परिस्थिति बनिरहेका बेला पार्टीभित्र र बाहिरबाट काँग्रेस महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरिएको थियो । थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा आन्दोलनका सहभागी भनिएको अराजक भीडले घर जलाइसकेको थियो ।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरे लगत्तै राष्ट्रपति पौडेलले ओलीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषय परिस्थितिबाट मुलुक, लोकतन्त्र र जनतालाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्ने विश्वास लिएको बताएका थिए । लगत्तै उनले जने–जीका प्रतिनिधिहरूसँग वार्ता गर्न आह्वान गरेका थिए ।
अन्य राजनीतिक दलका नेताहरूले पनि वार्ता र संवादबाट निकास निकाल्न सकिने बताएका थिए । संसद् जीवितै रहेका कारण जेनजीले खोजेजस्तो उपयुक्त पात्र गगन थापा भएको निष्कर्षसहित प्रधानमन्त्रीको प्रस्ताव गरिएको थियो । तर उनले अहिलेको अवस्थामा काठमाडौँ महानगरपालिका मेयर बालेन साहलाई संसदबाटै प्रधानमन्त्री बनाउन सकिने र त्यसका लागि पहल गर्ने बताएर आफूलाई आएको प्रस्ताव पन्छाएका थिए ।
‘पार्टीभित्र र बाहिरबाट महामन्त्री गगन थापालई प्रस्ताव आएको थियो, तर उहाँले संसदीय प्रणालीमा बालेन साहलाई ल्याएर प्रधानमन्त्री बनाउने जिम्मा दिऔ भनेर भन्नु भयो,’ थापा निकट रहेका एक नेताले भने ।
यो विषयमा काँग्रेसभित्र र काँग्रेसबाहिर रहेका दलका समकालीन न नेताहरूले पनि गगन थापा उपयुक्त पात्र रहेको बताएका थिए । तर थापाले बालेनलाई पन्छाएपछि त्यो विषय त्यही टुंगिएको थियो । यो विषयले गगन र बालेनबीचको सम्बन्ध के हो भन्ने कौतुहलता पैदा भएको प्रधानमन्त्री प्रस्ताव गर्ने काङ्ग्रेसभित्रका नेताहरूले बताएका छन् ।
