काठमाडौँ, असोज १३ ।गृह मन्त्रालयले एमाले स्थायी समिति सदस्य महेश बस्नेतलाई पक्राउ लागि प्रहरीलाई दबाब दिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयले तुरुन्तै पक्राउ गर्न निर्देशन दिएको छ । ‘उहाँलाई पक्राउ गरेर अनुसन्धान गर्न निर्देशन छ, संभवत चाडै कार्यान्वयन हुन्छ होला’, प्रहरी प्रधान कार्यालय एक उच्च अधिकारीले भने ।
स्रोतका अनुसार उनलाई एमालेको सचिवालय बैठक चल्दा चल्दै आइतबार नै पक्राउ गर्ने तयारी थियो । तर वातावरण प्रतिकुल भएपछि प्रहरी पछि हटेको थियो । ‘मुठभेड हुने अवस्था आयो त्यही भएर प्रहरी पछि हट्यो’, स्रोतले भन्यो । नेता बस्नेत विरुद्धको साइबर अपराधमा उजुरी परेको छ ।
जानुका पाठक (शोभा)ले बस्नेत विरुद्ध सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै प्रहरीको साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो दुवैमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीलाई प्रहरीले व्यूताएर पक्राउको तयारी थालेको हो ।
यसअघि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गर्न निरर्थक हुने भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयमा पत्र पठाएको थियो । अहिले त्यही जाहेरीलाई सरकारी वकिल कार्यालयले व्यूताएर अनुसन्धान गर्नु भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई पत्राचार गरिसकेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले बस्नेतले फेसबुकमा ‘नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपस्ट बौलाउँदै हिँडिरहेको छ’ भनेर अमूर्त ढङ्गले अमर्यादित रूपमा भालु शब्द लेखेकोमा कसलाई, कुन प्रयोजनका लागि लेखिएको हो सो खुलाउन भनिएको छ । महेश बस्नेतले भने यो विषयलाई कडा प्रतिवाद गरेका छन् ।
‘जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई पठाएको जवाफको पत्र सार्वजनिक गरेर मेरो चरित्र हत्या गर्ने प्रयत्न गरिएको छ । जुन कुरा विगतमा पनि पटक पटक गरेको थियो । मेरो विरुद्ध उजुरी गर्ने पात्रले उसको सोसल मिडियामा मेरो विरुद्ध निकै ठुलो चरित्र हत्या गर्ने,गालीगलौज गर्ने गर्ने,स्ट्याटस लेख्ने र लाइभ गर्ने काम गरेको छ। उसका विरुद्ध पनि धेरै जाहेरीहरू दर्ता भएका छन् । अहिलेसम्म कारबाही भएका छैन ।
यस्तो कुनै अमूर्त र लाक्षणिक विषयलाई आधार बनाएर राखेको बिचारलाई अनुसन्धानको विषय बनाउने हो भने गृह मन्तरी ज्यु म लगायत धेरै मान्छेहरूलाई त्योभन्दा धेरै गम्भीर आरोप र चरित्र हत्या गर्ने गरी साइबर अट्याक तपाईँहरूद्वारा परिचालित साइबर टिमबाट गराइएको छ। ती सबैका विरुद्ध हजारौँ जाहेरीहरू नेपाल प्रहरीका सामु आउनेछन् ।
तिनलाई कारबाही गर्ने हिम्मत छ कि छैन गृहमन्त्रीज्यू ?छैन भने औलो तान्दा डुडुलको निक्लेला याद गर्नु। अब अर्का ज्या जति र पूर्वाग्रहका विरुद्ध जस्ता सुकै प्रतिरोध गर्न तयार भएर बसेका छौ,’ बस्नेतले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
उनलाई पक्राउ गर्न खोजेमा प्रतिकार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । ‘युवा सङ्घले प्रतिकार टोली बनाएको छ, महेश बस्नेतलाई पक्राउ गर्न आएमा प्रतिकार गर्नेछौ’, युवा सङ्घका एक नेताले भने । केही दिनदेखि बस्नेतले युवा सङ्घका नेताहरूलाई अघिपछि लगाएर हिँडेका छन् । उनी आफै पनि युवा सङ्घ नेपालका पूर्व अध्यक्ष हुन् ।
