काठमाडौं , असोज १४
राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहलाई मंगलवार एकबिहानै धम्की दिएका छन्।
नेपाल प्रहरीको साईबर ब्यूरोले विद्युतीय कारोबार ऐनअनुसार बस्नेतलाई पक्राउ गर्ने तयारी गरेको समाचार फैलिएपछि आक्रोशित उनले मंगलवार फेसबुक पेज सामाजिक संजालबाट मेयर बालेन र उनी निकट सामाजिक संजालमा कन्टेन्ट क्रियटर केपी खनाललगायतलाई धम्की दिएका हुन् ।
पोष्टमार्फत बस्नेतले मेयर बालेनलाई देशभर कतै हिँडडूल नै गर्न नदिने र कानुन लगाएर ठीक पार्ने धम्की दिएका छन् । प्रत्येक नागरिकले हिँडडूल र अभिव्यक्त गर्न पाउने संवैधानिक मौलिक हक र मानवअधिकारकै ठाडो उल्लंघन हुनेगरी किन एकबिहानै बस्नेतले किन आक्रोश पोखे आश्चर्यको विषय बनेको छ ।
सामाजिक संजालमा बस्नेतविरुद्ध शोभा पाठकले विभिन्न आरोपसहितका पोष्टहरु गर्दै आएकी छिन् । उनले बस्नेतविरुद्ध बलात्कार मुद्दामा उजुरी दिएकी थिइन् भने बस्नेतले पनि पाठकविरुद्ध थुप्रै उजुरी दिएका थिए । त्यही उजुरीसँग सम्बन्धित विषयहरु सामाजिक संजालहरुमा छरपष्ट हुँदै आए पनि बालेनको नामै लिएर बस्नेतले धम्की दिएपछि भने आश्चर्यका रुपमा हेरिएको छ ।
‘बालेन, भिक्टर कुमार, केपी खनाल, राजिब, बिरेन्द्रलगायत साइबर सेना लगाएर सडेको सिनो बोकेर मेरो चरित्र हत्या गरेर अनेक गर्न लगाइस् ।’ खनाल भिक्टरसहितको नाम लिएर बालेनलाई धम्क्याउँदै बस्नेतले सामाजिक संजालमा पोष्ट गरिएको पाचौं बुँदामा भनेका छन् ।
यस्तो छ, बस्नेतको धम्की(जस्ताको तस्तै)
१. जेन्जी सेना उठाएर घर जलाउन लगाएर ध्वस्त पारिस !
२. मेरा बुढा बुबा आमालाई जिउँदै जलाएर मार्ने प्रयास गरिस !
३. मेरो श्रीमतीलाई मार्न खोजेउ पहिचान नखुलेर बालबाल बचिन् ।
४. बालेन सेना लगाएर मेरा छोराछोरीलाई नेपो बेबी भनेर बदनाम गराइस !
५. बालेन भिक्टर कुमार केपी खनाल राजिब बिरेन्द्र लगायत साइबर सेना लगाएर सडेको सिनो बोकेर मेरो चरित्र हत्या गरेर अनेक गर्न लगाइस् ।
६. हजारौं व्यक्तिलाई फोन गर्न लगाएर मार्छु भन्दै धम्काउन लगाइस ।
७. अहिले दशैंको मुखमा घरबार बिहिन बनाएर पनि मलाई गिरफ्तार गर्छु भनेर मिडिया ट्रायल गरेर मेरो घर परिवारमा आतंक र रुवाबासी गरिस ।
८. यो कुकर्म मलाई मात्र होइन हजारौंलाई गर्न लगाएका छौ।
ए बालेनको चेलो कान खोलेर सुन ।
तिमीहरूको पाइपाई हिसाब हुन्छ र चुनचुन के बदला लिन्छु याद गर । देश भर हिडन नसक्ने हालतमा पुग्नेछस ।
कानुन हातमा लिएर होइन कानुन साथमा लिएर तलाई ठिक पार्नेछु ।
