काठमाडौं, असोज १४
राष्ट्रिय युवा संघ नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्न गरिएको सिफारिसलाई असंवैधानिक र प्रतिशोधप्रेरित कदम भन्दै आपत्ति जनाएको छ।
सोमबार संघका अध्यक्ष क्षितिज थेवेद्वारा जारी विज्ञप्तिमा भाद्र २३ र २४ को घटनालाई आधार बनाएर गठित छानबिन आयोगमार्फत ओलीको राहदानी रोक्का गर्न गरिएको सिफारिस संविधान प्रदत्त मौलिक अधिकारको हनन भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यो कदमले न्याय प्रक्रिया र स्वतन्त्र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर हस्तक्षेप गरेको छ।”
संघले हालैका गतिविधिहरू लोकतन्त्र र नागरिक अधिकारविरुद्ध जान थालेको भन्दै सरकारको कदमप्रति विरोध जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ। संघले पूर्व–ईन्जार्ज र एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि पनि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेको छ।
