काठमाडौँ । मधेस प्रदेशको महोत्तरीस्थित खयर मारामा बस दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । खयर मारा स्कुलअगाडि बसको ठक्करबाट पैदल यात्रु चुल्हाई चौधरी र दुर्घटनामा घाइते भएका सर्लाही ईश्वरपुरका १२ वर्षीय प्रवीण खड्काको उपचार क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको सशस्त्र प्रहरी ९ नं गणका एसपी शेरबहादुर अधिकारीले जानकारी दिएका छन् । स्थानीय शुभ स्वस्तिक अस्पतालमा उपचार हुन नसकेपछि हेलिकोप्टरमा राख्न अस्पतालबाट सशस्त्र प्रहरीको एम्बुलेन्स प्रयोग गरिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका बर्दिबास–१० का ४४ वर्षीय निर्मला तामाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीय अस्मिता गोले २० वर्षीय सुनिता बिक, १३ वर्षीय प्रभाकर खड्कासहित ६ जनालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी ९ नं गणका गणपति अधिकारीले बताए ।
बस दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार गराइएको थियो । शुक्रवार बिहान घारी बथानबाट खयर मारा हुँदै काठमाडौँ जान लागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना भएको थियो ।




