गुल्मी, असोज २१
यहाँको कोतघरमा सरायको रौनकसँगै काठेपिङमा रमाउने सर्वसाधारणको घुइँचो लागेको छ । दसैँपछि कोतघरमा लाग्ने मेलामा विगतमा झैँ काठेपिङ राखिएका छन् । कात्तिक शुक्लपक्षमा भुइँ छोड्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ । त्यही मान्यताले पनि यहाँ काठेपिङ खेल्नेको भीड लागेको हो।
विशेषगरी घुम्ने लकडी राखिएको हुनाले कतिपयले यसलाई लकडी पिङ पनि भन्ने गर्छन् । तर गाउँघरमा प्रायः चर्खेपिङ वा काठेपिङले परिचित छ । मालिका गाउँपालिका–५ छापकी मनिषा महतराले भने, “दसैँमा एकपटक भुइँ छाड्नुपर्छ भन्छन्, त्यसैले म पनि पिङ खेल्नकै लागि यहाँ आएको हुँ । यो हाम्रो परम्परा हो ।” काठेपिङमा एकपटकमा १२ जनासम्म चढ्न मिल्छ ।
दसैँमा काठेपिङ केबल मनोरञ्जन मात्र नभई आम्दानीको स्रोत पनि बनेको छ । पिङ सञ्चालकले आम्दानी लिँदै आएका छन् । मालिका गाउँपालिका–७ घमिरका हिराबहादुर कार्कीले यो वर्ष बुल्म, अर्खबाङ्ग, अर्जैलगायत स्थानमा पिङ सञ्चालन गरे। उनले प्रतिव्यक्ति ५० रुपैयाँका दरले शुल्क लिए ।
सोमबार मात्रै अर्जैमा ५०० बढीले पिङ चढे । सबै खर्च कटाउँदा एक सिजनमा दुई वटा पिङबाट तीन लाखसम्म आम्दानी गरेको उनले बताए। वडाध्यक्षसमेत रहनुभएका कार्कीले व्यावसायिक रुपमै पिङ सञ्चालन गर्दै आएका छन्। अर्जैको सरायमा मात्रै नौ वटा पिङ राखिएका छन् ।
यसक्षेत्रमा दसैँको एकादशीदेखि कोजाग्रत पूर्णिमा अर्थात् पाँच दिनसम्म विभिन्न स्थानमा मेलाकै रुपमा सराय नाच नाचिन्छ । सोही मेलालाई लक्षित गर्दै काठेपिङ सञ्चालन गरिएका हुन् । मालिका गाउँपालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले काठेपिङले गाउँको संस्कृति संरक्षणका साथै गाउँमा आन्तरिक पर्यटकसमेत प्रवद्र्धन भएको बताए।
