सिन्धुपाल्चोक , असोज २१ गते
चरिकोट–खाडीचौर सडकखण्डमा सोमबार बिहान भएको बस दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा चालकसहित तीन जना नाबालक पनि छन्, तर सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार दुर्घटना सुनकोशी गाउँपालिका–७, पाँचकिलो नजिकै भएको हो। रामेछापको खाडादेवी–गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौं जाँदै गरेको बा।प्र।०३–००१ ख २५२१ नम्बरको हिमाल तराई यातायातको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो।
दुर्घटनापछि प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा ट्राफिक टोली सहितको उद्धार टोली खटिएको थियो। टोलीले तुरुन्तै चालकसहित २१ जनालाई उद्धार गरी सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाएको छ।
दुर्घटनापछि गम्भीर अवस्था नदेखिए पनि यात्रुहरूको प्राथमिक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। हिमाल तराई यातायातका अध्यक्ष आत्मराम थापाका अनुसार, यात्रुहरूलाई काठमाडौं पुर्याउन बनेपाबाट अर्को बस खाडीचौर पठाइएको छ।
सडकको मोडमा तीव्र गतिका कारण नियन्त्रण गुमिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
