वरुण ज्ञवाली
जीवनमा बुवाआमासँग तिर्थयात्रा जाने रहर थियो । कहिले के कहिले कस्ता स्वरूपमा आइपर्ने बाध्यताले त्यो रहर पुरा हुन सकिरहेको थिएन । यो पटक भने दशैको समय पारेर मुक्तिनाथ जाने अवसर जुर्यो ।
असोजको १२, १३, १४ गतेका दिन पवित्र मुक्तिनाथ यात्राको मिति तय भयो । मुक्तिनाथ हिन्दु र बौद्ध दुबै धर्मावलम्बीका लागि पवित्र तिर्थस्थल हो । हिन्दुहरुका लागि मुक्तिक्षेत्र , र बौद्धहरुका लागि छुमिङ ग्यात्सा अर्थात सय पानी भनेर चिनिने पावन भूमि हो । जहाँका १०८ धारामा स्नान गरेपछि पाप धुने,आत्मा शुद्ध हुने र मोक्ष प्राप्त हुने विश्वास छ।
पहिलो दिन असोज १२
जाने भनेर दिमागमा चित्र त बनाइयो तर त्यो चित्रलाई यथार्थमा परिणत गर्न धेरै साधनहरु नै आवश्यक पर्ने रहेछ । दशैको समय भनेर गाडीले पनि महँगो पैसा नै लियो । असोजको १२ गते बिहान १२ बजे हामीले यात्रा शुरु गरेका थियौ । साँझ ५ : ३० तिर पोखरा पुग्यौ। हाम्रो योजना त पोखरामै गएर बस्ने थियो तर ड्राइभरको भोलीको लागि बाटो छोटिन्छ भन्ने कुराले योजना परिवर्तन भयो । पानी परिरहेको थियो, घुम्ने राम्रो मौसम पनि उचित नभएको कारणले हामी ड्राईभरको कुरामा सहमत भयौ ।
पोखराबाट बाटो सोध्दै बेनी पुग्ने भनेर बाटो लाग्यौ । हेम्जा,कुस्मा हुँदै बेनी पुगियो, करिब ३ : ३० घण्टा लाग्ने रहेछ बेनी पुग्न । बेनीको बजार जता माया उतै छ नजर भनेजस्तै हामी चै कता खाने कता बस्ने भनेर नजर लगायौ ,हामी नजरमा नजर मिलाएर लामा दाइको होटलमा पुगियो ।
बेनी बजार म्याग्दी र पर्वतको सीमानामा पर्दो रहेछ । लामा भान्छाघरमा भान्छा तयार गरेर खोप्रा नाम गरेको कोठामा आमा, बुवा र म सुत्ने तय गयौ । होटलका मालिक सानै उमेरमा काम गर्नको लागि काठमाडौं नजिक पर्ने नुवाकोटबाट त्यहाँ आएर काम सिक्दै, सिकाउदै अहिले आफ्नो होटल बनाएर चलाइरहेका रहेछन । आन्तरिक र बाह्य पर्यटकहरुको लागि बेनीमा स्वागतयोग्य होटल तयार गरेका रहेछन । होटलमा खाना खाएर बसिरहेको थिए ।
डुक…डुक…डुक गर्दै दुईवटा बुलेट बाईकमा दुई जोडी आए । हेल्मेट खोलेर एकजनाले मसँग हात मिलाए । म चै उनको हल्का धुलो,बाईकको क्लजको कालो मेरो हातसँगको स्पर्शको कारण खोज्दै थिए । मैले सोधे : हाम्रो कतै भेट भएको थियो ? उनले पनि निधारको छाला खुम्चाउँदै तपाईलाई यो भन्दा पहिला कतै देखेको हो तर याद भएन भने । मैले होइन भनेर भन्नु उचित ठानिन र कुनै लिंकलाई घुसाउन सकिन्छ कि भनेर लख काटे । म : Rotaract मा हुनुहुन्छ?
उ : छैन।
म : RRM मा ?
उ : नाई नाई
यति पनि नमिलेपछि तपाई के गर्नुहुन्छ भनेर सोधे । म : MR Mediacal representative नारायणगढ Area हो । मैले छोटो समयमा यसलाई बढाउन खोजिन, हुन त मैले चिनेका : MR साथीहरु पनि थिए तर होला कतै भनेर मुन्टो हल्लाए । अगाडि TV मा भारत पाकिस्तानको Asia Cup Final चलिरहेको थियो । खेल हेर्न लायक नै थियो तर अन्तिमतिर भारतले आफ्नो पोल्टामा पारेर नै छोड्यो । बधाई छ भारत भन्दै सुत्न गए ।
दोश्रो दिन

यात्राको दोश्रो दिन आमाबुवा घरमा जस्तै सबेरै उठ्नुभएको रहेछ ,उहाँहरुको खुसुखुसु आवाज मेरो कानमा गुन्जिएपछि निदरी खुल्यो एकाएक मोबाइल हेरे ७ : ०० बजिसकेको रहेछ । ड्राईभरलाई ८ बजे हिड्ने भनेर हिजो नै भनेको कारणले बिहानमा गर्ने सबै शारीरिक अभ्यास नगरी फलफुल खाइयो । चालकलाई फोन गरेको कपाल काटेर आउँछु भन्दै थियो । उसको कपालले पनि आधा घण्टा लगायो।

बेनीबाट ८ : ३० मा मुस्ताङको यात्रामा अघि बढ्यौ । बाटोमा देखिने रुप्से झरना र अन्य झरनाहरु, सानातिना खहरे खोलाहरु, कालो हल्का बग्न लागेको माटो, तल एकनासले स्वाहहहह गर्दै बगिरहेको कालीगण्डकी आदि देख्दा नेपाल साच्चै नै सुन्दर छ भनेर भन्न कुनै पनि कोणबाट मनले छोडेन । गाडीमा हिड्दै गर्दा खोलाको आवाज, झरनाको आवाज, रुख बिरुवा, खाली बाटो साच्चै नै दिमाग र ऑखाको लागि खुराक नै थिए । प्रकृति नै हामी हौ र हामी पनि प्रकृति नै हौ । म त्यतिबेला प्रकृतिमा समाहित भएको थिए ।
मुस्ताङको बाटोमा स्याउका दानाहरु कमै थिए, जोमसोम पुगेर किन यस्तो भयो भनेर बुझ्दा दशैको लागि धेरै मात्रामा टिपेर बजार लगेकाले भन्ने उत्तर हामीले पायौ । बाटोमा शेर्पा आमाको होटल याक एन्ड यतिमा ५५० को खाना खाएर हामी मुक्तिनाथतर्फ लाग्यौं । गाडीबाट करिब २० मिनेट हिड्नु पर्ने रहेछ एक्छिन हिडेपछि आमाको शरिर थकित बन्यो ।
घोडा सवारमा आमाबुवा चढ्नु भयो । ड्राईभर र म हिड्दै उकालो लाग्यौं । घोडा चडेपछि पनि हिड्न पर्ने भएकाले आमाले गारो महसुस गर्नु भएको थियो । एकैछिनको आरामपछि हामी मुक्तिनाथ मन्दिर पुग्यौ । मन्दिर, कुण्ड र बगिरहेको हिमालको पानीले आमालाई शान्त बनाइरहेको थियो। १०८ धारामा स्नान र कुण्डमा डुबुल्की लगाएपछि एकदमै चिसो महसुस भयो। त्यही पुजा, आर्धना र तस्विरपछि ओरालो लाग्यौं ।

मुक्तिनाथबाट फर्केर कागबेनीमा पितृलाई सम्झिने भन्ने परम्परा रहेछ । बुवाआमाले त्यतै श्राद्ध गर्नु भयो । त्यसपछि सोझै जोमसोम पुगेर स्याउ र स्याउको सुकुटी आदि किनमेल गरियो । अब चै ड्राईभरले दशैँ सम्झिएछ कि छिटो घर पुग्न गाडी दौडाउन थाल्यो ।

यसपाली चै हाम्रो काइली फुपुको निधन भएको वर्ष पूरा नभएको हुनाले टीका नलगाउने निधो गरेका थियौं । बुवाआमाको खाना र बास पहिले मुक्तिनाथ जाँदा नै गरेको रिभ्यु अनुसार जाँदा जुन होटलमा खाना र बास थियो त्यसैमा जाने सोच बन्यो । होटल याक एन्ड यतिमा खाना त खायौ तर बाटो पानी र धुपले अगाडि बढ्न नसकिने थियो । अगाडि बढ्ने कि नबढ्ने सल्लाहमा एकैछिन रोकियो एकैछिनमा एउटा पछाडिबाट एउटा गाडी हामीबाट अगाडि बढ्यो । त्यसको पछाडिपछाडि गर्दै बेनी ११ बजे आउपुगियो र हिजैको बसेकै लामा दाईको होटलमा सुतियो ।

तेस्रो दिन
आज यात्राको अन्तिम दिन पोखरा घुम्ने योजना थियो तर लामा भान्छाघरको बाक्लो वेडमा अझै सुत्न मन थियो । यद्यपी जति छिटो उठियो त्यति घुम्न पाइन्छ भन्ने लोभले छिटो उठ्नका लागि प्रेरणा दियो । आमाबुवाको बेडको छेवैमा भएको कोन्का कम्पनीको तातोपानीको कित्लीमा पानी तताउंदै हुनुहुन्थ्यो । म पनि उठेर, नित्यकर्म पुरै सकेर गाडी ड्राइभरलाई कल गरे, ला फोन त अफ छ । हतार हतार गर्दै उसको कुन कोठा छ भनेर लामा दाइ सँग सोधे । उसको कोठा नम्बर १७ रहेछ । म जाँदा उ जुत्ता लगाउदै थियो । म जाने बित्तिकै जाम, जाम भन्दै थियो उसलाई गाडी निकाल्न भनेर म कपडा मिलाउन गएँ ।
मुस्ताङबाट ल्याएको स्याउ काट्न लगाएर आमाबुबाले खाँदै हुनुहुन्थ्यो मुखबाट चपचपको आवाजमा । म होटलको बिल तिरेर फेरि आउने छौ भन्दै बेनीलाई ऑखाले अघाउन्जेल हेरेर बिदाइ गरे । त्यहाँबाट सोझै बाग्लुङ कालिका मन्दिर दर्शनमा जुट्यौ, बाग्लुङ कालिका दर्शन गरेर रफ्तारमा पोखरा आइपुगियो ।
बाटोमा पर्ने बिन्दबासिनी मन्दिर जादै गर्दा रोट्याक्टबाट चिनजान भएकी बहिनी सुजु दाहाल, उनको मम्मी र बहिनीसँग भेट गरियो । त्यसपछि तालबाराही मन्दिर घुमेर लेकसाइडको भेजिटेरियन होटलमा खाना खाएपछि घर फर्कने जमर्कोमा जुटियो । बाटोमा पर्ने गलेश्वर गुफामा अबलोकन गरेर हाम्रो भ्रमण समाप्त भयो र करिब २ बजेतिर पोखराबाट हिँडेर ६ बजे बुटवल घरमा आइपुग्यौ ।
