काठमाडौं, असोज २२
नेपालका प्रख्यात बौद्धिक, प्राध्यापक, लेखक र नागरिक अभियन्ताहरूले संयुक्तरूपमा राजनीतिक दलहरूलाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।‘राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक आह्वान’ शीर्षकको विज्ञप्ति जारी गर्दै उनीहरूले हालैको जेन्जी आन्दोलनपछि उत्पन्न अस्थिर परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षा गर्न नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने आवश्यकता औंल्याएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक हक–अधिकारका लागि संघर्ष र परिवर्तनको गौरवशाली परम्परा बोकेको देशमा नागरिक स्वतन्त्रता कुण्ठित हुनु अस्वीकार्य छ। भ्रष्टाचारविरुद्धको जनविद्रोहले पुरानो राजनीति प्रति गहिरो असन्तोष प्रकट गरेको छ, त्यसैले दलहरूले समयको माग बुझेको संकेत दिन नेतृत्व हस्तान्तरण गर्नुपर्छ।’
विज्ञप्ति हस्ताक्षर गर्ने २३ जना नागरिक समाजका अगुवाहरुले सरकार, जेन्जी र राजनीतिक दलहरूलाई पाँचवटा मुख्य बुँदामा ध्यानाकर्षण गराएका छन्।
जसमा जेन्जी आन्दोलनका जायज मागहरू संवैधानिक सीमाभित्र पूरा गर्न, आन्दोलनमा भएको हिंसा र दमन दुवैप्रति भत्र्सना, र तोडफोडमा संलग्नहरूमाथि निष्पक्ष कारबाहीको माग लगायतका रहेका छन्।
त्यस्तै प्रधान न्यायाधीश र संवैधानिक अङ्गका पदाधिकारीहरूमाथि सिर्जना गरिएको भय र त्रास अन्त्य गर्न, र भ्रष्टाचारको आरोपमा संलग्नहरूमाथि छानबिन आरम्भ गर्न चेतावनी दिदै उनीहरुले फागुन २१ गते तय गरिएको निर्वाचनलाई शान्तिपूर्ण र उत्साहपूर्ण बनाउन सबै दल र सरोकारवालाबीच तत्काल संवाद थाल्न आग्रह गरेका छन्।
राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र अभाव, नेतृत्वको मोह र भ्रष्टाचारप्रतिको सहिष्णुतालाई वर्तमान संकटको मूल कारण ठहर गर्दै, दलभित्र सामूहिक र विकेन्द्रीत नेतृत्व प्रणाली अपनाउन पनि उनीहरुको सुझाव रहेको छ।
विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा प्रो. लोकराज बराल, गणेशमान गुरुङ, रत्नसंसार श्रेष्ठ, उपेन्द्र कोइराला, सुशील प्याकुरेल, कनक दीक्षित, रेणु अधिकारी, महेश मास्के, परशुराम तामाङ, र राजेन्द्र महर्जनलगायतका नामहरू रहेका छन्।
