काठमाडौं, असोज २२
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालका दिनमा पार्टीभित्र बढ्दै गएको नेतृत्व हस्तान्तरणको बहसका बीच आफूले अझै नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएपछि नेता कार्यकर्ताले ओलीलाई पनि नबोक्ने जनाएका छन्।
गण्डकी प्रदेशको एक जिल्लाका अध्यक्षको भनाइ अनुसार गुन्डुस्थित निवासबाट भर्चुअल माध्यममार्फत् एमाले अध्यक्ष ओलीले अझै नेतृत्व नछाड्ने बताएपछि प्रदेश र जिल्लाका नेताहरुले अब अध्यक्षमा बोक्न नसक्ने बताएका थिए । बुधबार प्रदेश अध्यक्षहरू र जिल्ला अध्यक्ष र जिल्लास्तरीय नेताहरूसँगको संवादमा उनले पार्टीको नेतृत्वमा रहन आफू अझै सक्षम रहेको दावी गरे ।
ती जिल्ला अध्यक्षका अनुसार ओलीले भनेका छन्–‘जबसम्म म सक्छु, तबसम्म नेतृत्व छोड्दिनँ। सक्न छाडेपछि मात्र छोड्दिन्छु।’
उनले स्पष्ट रुपमा शारीरिक, मानसिक र वैचारिक रुपमा आफू नेतृत्व गर्न तयार रहेको सन्देश पनि दिएका थिए ।
भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनप्रति संकेत गर्दै उनले त्यो आन्दोलन र त्यसपछि आफू सत्ताबाट हटाइएकालाई योजनाबद्ध षड्यन्त्रको उपजको रूपमा व्याख्या गरे। ओलीले आफू, पार्टी र देशविरुद्ध एकैसाथ षड्यन्त्र गरिएको भन्दै नेतृत्व नछोड्ने निर्णय पनि त्यसकै प्रतिक्रियाका रूपमा आएको बताए।
उनले भने,–पार्टीको शिर निहुरन दिन्नँ, विचारको हिसाबले पनि, अडानको हिसाबले पनि कुनै हालतमा झुक्दिनँ ।’
पार्टीभित्र पुनर्गठन र पुस्तान्तरणको विषयमा उठेका चर्चाप्रति संकेत गर्दै उनले त्यो ‘नचाहिने हल्ला’ भएको उल्लेख गरे। यस्ता संवेदनशील विषयहरू पार्टीका औपचारिक संरचनामार्फत् मात्र निर्णय गरिने उनले बताए।
यता, एमाले सचिवालय बैठक यही असोज २४ र २५ गतेका लागि बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ सम्म बस्ने तालिका छ। यी बैठकहरूमा नेतृत्वसम्बन्धी बहस अझ चर्किन सक्ने अनुमान गरिएको छ।
उनले सचिवालयमा केहीले आफूलाई छोड्न भन्नेहरुमाथि पनि कटाक्ष गरेका छन् । स्रोतका अनुससार आफूलाई अध्यक्ष वा नेतृत्व स्वीकार गर्न नसक्नेले एमाले छोडे हुन्छ भन्ने खालको भनाइ पनि राखेका थिए । ओलीको यो भनाई सार्वजनिक भएसँगै एमालेभित्र नेतृत्वको बहसले उचाई लिएको छ ।
