काठमाडौं असोज २८ गते
इजरायलमा हमासको हमलामा परेका नेपाली युवा विपिन जोशीको मृत्यु पुष्टि भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रचण्डले विपिनको अपहरणपछि उनको सकुशल रिहाइका लागि गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरू विफल हुनु अत्यन्तै पीडादायी भएको बताएका छन्।
‘विपिनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन नसक्नु अत्यन्त पीडादायक विषय हो,’ प्रचण्डको भनाइ छ।
उनले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा डुबेको परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन्। ‘मैले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु। यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढ्न आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन्।
इजरायलस्थित नेपाली दूतावास स्रोतका अनुसार, हमासको आक्रमणमा अपहरणमा परेका विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिरै भएको हो। इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणबाट यो पुष्टि भएको हो।
विपिन जोशीसँगै अपहरणमा परेका अन्य नेपालीहरूको अवस्थाबारे अझै अनिश्चितता कायम छ।
