काठमाडौ, असोज ३० गते
नेकपा (एमाले) का केन्द्रीय सदस्य माधव ढुंगेलले केन्द्रीय कमिटीको जारी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता तत्काल खुलाउन माग गर्दै लिखित पत्र दिएपछि बैठकस्थल र त्यसको वरपर विभिन्न चर्चा चल्न थालेका छन् ।
बिहीबार बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा उनले भण्डारीलाई एमाले सदस्यता दिनुपर्ने मागसहितको पत्र अध्यक्ष केपी शर्मा ओली र महासचिवलाई दिएका हुन्। माधवले अध्यक्ष ओली र महासचिव पोख्रेलकै डिजाइनमा सो माग राखेको चर्चा बैठकस्थल र त्यसको वरपर चलेको हो ।
बैठकमा रमेश पौडेलले पनि भण्डारीको सदस्यता रोकेर एमाले एकताबद्ध हुन नसक्ने धारणा राखे। उनी भने लामो समयदेखि भण्डारीकै पक्षधर मानिन्छन् ।
एमालेको संगठन विभाग सचिव रहेका ढुंगेलले भण्डारीको सदस्यता पहिले नवीकरण भएको समेत बताएका थिए।
यसैगरी मनोजजंग थापाले त भण्डारीलाई एमालेमा स्वागत गर्दै बहुपक्षीय संयेक्त मोर्चा बनाएर जानुपर्ने प्रस्ताव राखेका छन्।
केन्द्रीय सदस्यहरू मञ्जु गुरुङ र युवराज बास्कोटाले पनि भण्डारीको सदस्यता नवीकरण गरेर जानुपर्नेमा जोड दिएका थिए।
