
काठमाडौं, असोज ३० गते
नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टीको अभिभावकको भूमिकामा बस्नुपर्ने सुझाव दिएकी छिन्।
एमाले केन्द्रीय कमिटीको हिजोबाट सुरु भएको बैठकमा धारणा राख्दै उनले अहिलेको जटिल राजनीतिक अवस्थामा ओलीको सशक्त भूमिका भने अभिभावकीय हुनुपर्ने स्पष्ट पारिन्।
अहिले मुलुकमा जे भइरहेको छ, जो विकल्प हुँ भन्दै आएका छन्, ती कुनै विकल्प हैनन उनले भनिन्, उनीहरू षड्यन्त्रका पात्र मात्रै हुन्। एमाले नै नेता पार्टी हो, र पार्टीलाई बलियो बनाउन सकिन्छ। अब कमरेड अध्यक्ष पार्टीको अभिभावक बनेर बस्नुपर्छ। मैले यस्तो भन्दा एमाले विरोधी भनिएला, मञ्चमा बसेका नेता गणले चित्त दुखाउनु होला तर म सत्य र लागेको बोल्छु भन्दै नेतृ खड्काले १० बुँदे धारणा राखिन ।
भण्डारीको सदस्यता नवीकरण खुला गर्न आग्रह
पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण खुला गरिनुपर्ने उनको स्पष्ट धारणा थियो।
फौजदारी अभियोगबाहेक अन्य विषयमा व्यक्तिको पार्टी सदस्यता समाप्त गर्नु राम्रो नजीर होइन, भन्दै उनले भनिन्, पूर्वउपाध्यक्ष विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण खुला गरिनुपर्छ।
उनको यो भनाइ ओली र भण्डारीबीचको पुरानो राजनीतिक समीकरणलाई पुनः सतहमा ल्याउने खालको रूपमा पनि हेरिएको छ।
नेतृत्व पुस्तान्तरणको माग
रचना खड्काले पार्टीमा नेतृत्व पुस्तान्तरणको विषयमा समेत जोड दिइन्। उनले पाँच पुस्ताको नेतृत्व एउटै पुस्ताले गर्नु न्यायपूर्ण र सम्भव दुवै नभएको उल्लेख गर्दै भनिन्,
ूप्रत्येक पुस्ताले देश र पार्टीको नेतृत्व गर्न पाउने अवसरलाई चिनियाँ कम्युनिष्ट पार्टीले कसरी व्यवस्थापन गरेको छ — एकपटक हेर्ने कि ?
उनका अनुसार, पार्टीभित्र युवा पुस्तालाई अघि ल्याउने व्यवस्था अब कार्यान्वयनमा जानु आवश्यक छ।
लोकतान्त्रिक छवि सुधार्न आग्रह
एमालेको लोकतान्त्रिक छवि जनतामाझ कमजोर हुँदै गएको भन्दै उनले आन्तरिक रूपमा पनि सहिष्णुता र विधिको शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
उनको तर्क अनुसार, अन्तरदृष्टिको अभावले पार्टी अझ कमजोर बन्न सक्छ, त्यसैले अरूलाई मात्रै दोष देखाएर निष्कर्षमा पुग्न नसकिने बताइन्।