बेलौरी, कात्तिक ११ गते
तिहारको उत्सवसँगै कञ्चनपुरमा जुवातास खेल्नेको संख्यामा वृद्धि भएपछि प्रहरीले कडा निगरानी गर्दै ११३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले विभिन्न पालिका र टोल–बस्तीमा सञ्चालन भइरहेका जुवा खालमा छापा मार्दै कुल सात लाख २९ हजार ५४६ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, गोप्य सूचनाका आधारमा लगातार अपरेसन चलाइएपछि भीमदत्त, बेदकोट, शुक्लाफाँटा, दोधारा–चाँदनी नगरपालिका र बेलडाँडी गाउँपालिकाका विभिन्न स्थानबाट जुवाडे पक्राउ परेका हुन्।
तिथिअनुसार पक्राउको विवरण
- असोज २४ गते: भीमदत्त–१८ सिद्धिबिनायक टोलस्थित भास्कर भट्टको पसलमा जुवा खेल्दै गरेका ११ जना पक्राउ, रु. २१,६३५ बरामद।
- असोज २६ गते: पिपरैया (भीमदत्त–१२) मा सुरेन्द्र बोहराको पसलमा ११ जना पक्राउ, रु. ५४,४९१ बरामद।
- असोज २७ गते: बेदकोट–९ अम्बै कटेजमा ९ जना नियन्त्रणमा, रु. १,६९,९३५ नगद बरामद।
- असोज २८ गते: शुक्लाफाँटा–११ कलुवापुरमा १० जना पक्राउ, रु. ६३,५०० बरामद।
- कात्तिक १ गते: महेन्द्रनगर गल्ली नं. १ मा ६ जना पक्राउ, रु. २३,११० बरामद।
- कात्तिक ४ गते:
- बेलडाँडी–२ चौवन्नी बजारको झलक क्याफेमा ८ जना, रु. २७,८६५ सहित पक्राउ।
- बेदकोट–३ दैजीमा ७ जना, रु. ५१,२६० सहित पक्राउ।
- कात्तिक ५ गते:
- दोधारा–चाँदनी–३ देवीस्थानमा ४ जना, रु. २१,८७५ र ३ मोबाइलसहित नियन्त्रणमा।
- भीमदत्त–१८ पुष्पलाल चोकमा ७ जना, रु. ४१,९७५ बरामद।
- कात्तिक ६–७ गते: दोधारा–चाँदनी–१ पशुपति टोलमा ८ जना, रु. ३०,९३५ र ४ मोबाइल बरामद।
- कात्तिक ८ गते: भीमदत्त–१ भासीमा ९ जना पक्राउ, रु. ५५,११५ सहित नियन्त्रणमा।
प्रहरीका अनुसार, यी सबै पक्राउ परेकामाथि मुलुकी अपराध संहिता अनुसार मुद्दा दर्ता गरिएको छ। कानुनअनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रुपियाँ ३० हजारसम्म जरिवाना सजायको व्यवस्था छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोहराले हालसम्म जुवाताससम्बन्धी १४ मुद्दा दर्ता भइसकेको र सबै पक्राउ परेकाहरूलाई कानून बमोजिम प्रक्रिया पूरा गरेपछि रिहा गरिएको जानकारी दिए।
