बाजुरा ,कात्तिक ११ गते
बाजुराको बुढीनन्दा नगरपालिकाले कोल्टी आधारभूत अस्पतालमा तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
दुर्गम गाउँबस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि पालिकाले गेटा आखा अस्पताल र गैरसरकारी संस्था पाइलापाइलासंगको समन्वयमा कोल्टी आधारभूत अस्पतालमा विशेषज्ञ डाक्टरद्धारा सेवा दिने गरेर तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।
शिविरमा आँखा रोग तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया , जेनेरल मेडिसिन , छाला रोग सेवा , नाक, कान, घाँटी रोग सेवा , स्त्री तथा प्रसुती सेवा , दन्त रोग सामान्य शल्यक्रिया कलेजो रोग हाड तथा जोर्नी रोग , बाल रोग तथा प्याथोलोजी सेवा रेडियोलोजी , इन्डोस्कोपी र फार्मेसी सेवा निशुल्क रुपमा प्रदान गरिने बुढीनन्दा नगरपालिकाले जनाएको छ ।
दुर्गम गाउँबस्तीमा बसोवास गर्दै आएका गरिब दलित तथा विपन्न परिवार बाजुराबाहिर गएर उपचार गराउन नसक्ने अवस्थालाई ध्यान दिएर शिविर आयोजना हुन लागेको नगरपालिकाले जनाएको छ ।
रोग लागेपनि आर्थिक अवस्था काजोर भएकै कारण उनीहरु त्यसलाई पालेर बस्न बाध्य छन् । उहाँहरुको त्यो समस्यालाई मध्यनजर गरेर हामीले गेटा आँखा अस्पताललगायतका संस्थासँग पाँच वर्षसम्मका लागि प्रत्येक वर्ष कोल्टी आधारभूत अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी सम्झौता गरेका थियौ नगर प्रमुख जनकबहादुर बोहराले बताए ।
अहिले यो सम्झौता गरेको झण्डै तीन वर्ष पुग्यो । दुई वर्ष अझै बाकी छन् । गएका ती तीन वर्षमा पनि हामीले यसै अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौ । त्यो शिविरमा यहाँको मात्र नभई छिमेकी जिल्ला मुगु , हुम्ला लगायतका धेरै स्थानीयहरुले निशुल्करुपमा सेवा लिनु भएको थियो नगर प्रमुख बोहराले भने ।
त्यही सम्झौता अनुसार कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शीविरको आयोजना गरेका छौ उनले भने, यो शिविरमा कानको अप्रेसन लेजर प्रविधिबाट गरिने भएको छ । दुर्गम ठाउँमा यसरी यो लेजर प्रविधिबाट अप्रसेन गर्ने भनेको पहिलो हो । त्यसैले यहाँका कानको समस्या भएकाहरुले पनि यो शिविरबाट निकै राम्रो सेवा लिन सक्नुहुन्छ ।
दुर्गम गाउँबस्तीका स्थानीयले रोग पालेर बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरेर हामीले विशेषरुपमा यो शिविरको आयोजना गरेको हौ नगरप्रमुख बोहराले बताए ।
उनले भने , “ सो शिविर कात्तिक २४ सोमबारदेखि २६ गते बुधबारसम्म सञ्चालन हुने भएको छ ।
यो शिविरमा काठमाडौबाट विभिन्न रोग विशेषज्ञ डाक्टरहरु आएर सेवा दिने भएकोले आफूलाई के समस्या त्यो समस्या भएकाहरुले यो शिविरमा आएर आफ्नो नाम दर्ता गराई समयमै निशुल्क रुपमा स्वास्थ्य सेवा लिन हुन हामीले अहिलेदेखि स्थानीयलाई जानकारी गर्दै आएको नगरप्रमुख बोहराले बताए ।
