सोलुखुम्बु, असोज १२
सोलुखुम्बुको लोबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अल्टिच्युट एयरको ९ एन–एएमएस नम्बरको हेलिकोप्टर आज बिहान करिब पौने ८ बजे लुक्लाबाट उडेको थियो। हेलिकोप्टरले पर्यटक उद्धारका लागि लोबुचे हेलिप्याडमा पुगेर फर्कने क्रममा दुर्घटना भएको हो।
हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्र सवार थिए। दुर्घटनापछि उनलाई सुरक्षित रूपमा लुक्ला ल्याइएको प्रवक्ता भुलले जानकारी दिएका छन्। उनलाई काठमाडौ ल्याउने तयारी भएको छ ।
पर्यटन व्यवसायी काजी विष्टका अनुसार हेलिकोप्टर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाको कारण भने खराब मौसम भएको अनुमान गरिएको छ।
