पोखरा, कात्तिक १२
पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भीषण हिमपातले पदयात्रामा रहेका विदेशी र स्वदेशी पाहुनाको पदयात्रा नै बिथोलिएको छ । हिमपातका कारण पदयात्रा पुरा हुन नसक्दा पदयात्रीहरु गन्तव्यमै पुग्न नपाई फर्केका छन । स्थानीय प्रशासनले अझै एकसातासम्म पदयात्रामा नजान पदयात्रीलाई अनुरोध समेत गरेका छन् ।
सोमबार रातीदेखि परेको हिमपातले हिमाली जिल्ला मनाङ र मुस्ताङको जीवनशैली अस्तव्यस्त बनेको थियो । भारी हिपमातले पदयात्रीहरु बाटोमै रोकिएका थिए । गन्तव्य नजिक पुगेका पदयात्रीहरु पनि अन्तिम समयमा गन्तव्यमा पुग्नै नपाई फर्केको पर्यटन व्यावसायीले बताएका छन । स्थानीय प्रशासनले हिमपात रोकिएको भएपनि हिमपहिरो आउन सक्ने जोखिम रहेको भन्दै अझै एकसातासम्म पदयात्रामा नजान पदयात्रीलाई आग्रह गरेका छन ।
अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक पाहुनालाई लिएर मनाङ पुगेका पर्यटन व्यावसायी बिजय केसीका अनुसार मंगलबार अस्तव्यस्त रहेको मनाङ क्षेत्रको यात्रा बुधबार केही सहज बनेको छ । हिमपातले रोकिएको मोटरबाटो डोजर लगाएर सफा गरेपछि सुचारु भएको छ । सडक सुचारु भएसँगै निजी सवारीमा गएका पाहुनाहरु धमाधम फर्केका छन । पैदलै गएका र सार्वजनिक सवारीमा गएका पाहुना पनि ओरालो लागिरहेका छन ।

‘सोमबार रातीदेखि परेको हिमपातले रोकिएको मोटरबाटो डोजर लगाएर हिउँ पन्छाएपछि खुलेको छ । खाङसारसम्मकै बाटो खुलेको छ । पदयात्रा भने अझै पनि खुलेको छैन,’ केसीले भने, ‘हिउँ र पानी पर्न बन्द भएपनि पदयात्रा भने अहिल्यै सम्भव छैन । किनकी माथिल्लो भेगमा परेको हिउँले बाटो ढाकेको छ ।’
उनले पदयात्रामा गएका स्वदेशी र विदेशी पाहुना गन्तव्यमै पुग्न नसकि फर्केको बताए । ‘अहिले पनि बाटोमा पाहुना छन । केही माथि (मनाङतिर) उक्लिने पनि छन । माथिबाट ओर्लिने धेरैजना छन । खाङसार भन्दा माथि जान अझै सहज छैन,’ उनले भने, ‘मोटरबाटोको हिउँ मात्र पन्छाइएको हो । पदयात्राको हिउँ पग्लेपछि मात्र हिडडुल सम्भव छ ।’ तिलिचोका लागि अझै केहीदिन पदयात्रा सम्भव नभएको उनले बताए ।
केसीले आफैले लिएर गएका पाहुनाको टोली पनि तिलिचो बेसक्याम्पबाट माथि जान नसकेको बताए । उनका अनुसार बेसक्याम्पबाट तिलिचो पुग्न कम्तिमा ५ घण्टा लाग्छ । तर, हिमपातका कारण पाहुना जान सकेनन । उनको अनुमानमा मंगलबारको दिन तिलिचो जान नसक्ने आन्तरिक पाहुनाको संख्या करिब ३५० थियो । त्यस्तै ५० जना विदेशी पनि बेसक्याम्पमै रोकिएका थिए ।
‘तिलिचो बेसक्याम्पमा रोकिएका करिब ४ सय जना पाहुना माथि उक्लिन नसकेपछि फर्केका छन । खाङसार र श्रीखर्कमा रोकिएका करिब १५० जना जति पाहुनाको यात्रा पनि बिचैमा रोकियो,’ उनले भने, ‘मौसमले गर्दा पदयात्रीको यात्रा बिथोलिएको छ । सिजनको बेलाको पदयात्रालाई हिमपातले अप्ठेरो पारेको छ । अब हिमपात नहुने हो भने केहीदिनपछि बल्ल सहज बन्छ ।’ अहिले परेको हिउँ छिटो गरि पग्लने भएकोले घाम लागेको खण्डमा ३÷४ दिनमा पदयात्रा सुरु हुनसक्ने उनको आँकलन छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले पनि मनाङको अवस्था सहज बन्दै गएपनि पदयात्रा भने अझै एकसाताका लागि सम्भव नभएको बताए । उनका अनुसार अबको एकसातासम्म तिलिचो, थोराङला, लार्केपास लगायतका क्षेत्रका उच्च भेगका पदमार्गमा पदयात्रा गराउन रोक लगाइएको छ । ‘हिउँ पर्न त रोकिएको छ ।
तर, जोखिम भने अब झनै बढी हुन्छ । किनभने अहिले परेको हिउँको थुप्रो पग्लँदै जाने क्रममा हिमपहिरोको जोखिम रहन्छ,’ उनले भने, ‘हिमपहिरोको जोखिम रहेकोले उच्चभेगको पदयात्रामा जान नदिनेगरि सूचना जारी गरिएको छ । प्रशासनले सहज अवस्था भएपनि पुन सूचना जारी गरेर पदयात्रा खुला गर्नेछ ।’
बाक्लो हिमपातका कारण तिचिलो क्षेत्रमा अहिले होटल पनि बन्द रहेको उनले बताए । होटलका संचालकहरु पनि हिमपातपछि तल झरेकोले अहिले माथि उक्लिने पाहुनाले खान र बस्न समेत नपाउने अवस्था रहेको प्रजिअ पौड्यालले बताए । ‘होटल नै बन्द रहेका छन । त्यही भएर पाहुनाले सेवा पनि पाउँदैनन । हिउँ पग्लन थालेसँगै हिमपहिरोका जोखिम पनि बढेको छ । त्यसैले सबैको सल्लाहमा एकसाताका लागि पदयात्रामा रोक लगाइएको छ,’ उनले भने ।
प्रजिअ पौड्यालका अनुसार अनुसार बुधबार डोजर परिचालन गरेर माथिल्लो भेगका सबै पाहुनालाई सदरमुकाम चामे झारिएको छ । करिब १५ सय जना पाहुना बुधबार नै लम्जुङ झरिसकेको उनको अनुमान छ । ‘डोजर लगाएर हिउँ फालियो । त्यसपछि निजी सवारीमा गएका पर्यटकलाई आफ्नै गाडीमा फर्किन लगाइयो ।
हिडेर वा सार्वजनिक सवारीमा गएका र बीचमै रोकिएका पाहुनालाई जिल्लास्थित सरकारी कार्यालयका गाडीमा चढाएर चामेसम्म झारियो,’ उनले भने, ‘जिल्लास्थित सरकारी कार्यालयका १० वटा गाडीमा पाहुनालाई चामे झारिएको छ । चामेबाट तल ओर्लिन खासै समस्या छैन ।’
धेरैजसो पाहुना आफ्नै वा रिजर्भ गरेर गाडीमा उक्लेका थिए ।
ती बाहेक मोटरसाइकलमा जानेहरु पनि फर्केका छन । उनले पनि हिमपातले सिजनको पदयात्रामा दख्खल पुगेको बताए । ‘पाहुनाले पदयात्रा पुरा गर्नै पाएनन । धेरै पाहुना बीचबाटै फर्किनुपरेको छ । पदयात्रा भन्दा सुरक्षा महत्वपूर्ण रहेपछि माथि जाने कुरै रहेन,’ उनले भने ।
अर्को हिमाली जिल्ला मुस्ताङमा भने अवस्था सामान्य रहेको त्यहाँ पुगेका पाहुनाले बताएका छन । ‘डाँडाकाँडा सेताम्य भएका छन ।
तर, मुस्ताङमा खासै समस्या केही छैन । गाडीहरु पनि चलेका छन,’ पोखराबाट घुमघामका लागि गएका देव क्षेत्रीले भने, ‘पाहुनाको भीडभाड भने उत्तिकै छ । आन्तरिकको पाहुनाको समूह घुमघामका लागि आएकोले भीडभाड भने सर्वत्र छ ।’
