काठमाडौं, कात्तिक १३
कांग्रेस केन्द्रीय समितिका बहुसंख्यक केन्द्रीय सदस्यहरुले आगामी फागुनको राष्ट्रिय निर्वाचन अगाडि पार्टी महाधिवेशन सम्भव नहुने भन्दै महामन्त्री गगन थापाको अर्ली महाधिवेशनको प्रस्तावलाई अस्वीकार गरेका छन्। केन्द्रीय समितिको विहिबारको बैठकमा बोल्ने बहुसंख्यक केन्द्रीय सदस्यहरुले राष्ट्रिय निर्वाचन अगावै पार्टी महाधिवेशन गर्न नहुने मत राखेर थापाको प्रस्तावलाई अस्वीकार गरेका हुन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्ष सकभर आगामी मंसिरभित्रै गराउन दबाब दिँदै आएको छ । मंसिरमा सम्भव नभए नियमित महाधिवेशनबाट भए पनि जेनजी आन्दोलनको भावना सम्बोधन गर्नेगरी नयाँ नेतृत्व लिएर मात्र राष्ट्रिय निर्वाचनमा जानुपर्ने अडानमा भएपनि संस्थापन पक्षका नेताहरुले त्यसलाई अस्वीकार गरेर जाने मनस्थिति बनाएका छन् ।
केन्द्रीय समितिमा उल्लेख्य बहुमत रहेकाले इतर पक्षको दबाबबाट नगलेको संस्थापन पक्ष विशेष महाधिवेशनका लागि प्रस्तुत हस्ताक्षरको विषय प्रवेश गराउनका लागि भने तयार देखिएको छ । बैठक सुरु हुनुअगावै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेपछि बैठक संचालनमा सहमति जुटेको थियो ।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवशेनका प्राप्त हस्ताक्षरबारे बैठकमा जानकारी गराउने र महामन्त्रीले थापाले ‘विधानले तोकेको समयावधि भित्र नै पार्टीको १५ औं महाधिवशेन गर्नका लागि कार्यतालिका निर्माण गर्ने’ प्रस्ताव राखेर बैठक सञ्चालन गर्ने सहमति जुटेको थियो । बैठकमा कार्यवाहक सभापतिले हस्ताक्षरबारे जानकारी गराउँदै बैठक अगाडि बढाएका थिए । तर, महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका भने प्रस्ताव गरेका छैनन् । बैठकमा महाधिवेशनको प्रस्तावमा केन्द्रीत रहेर १५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
जसअनुसार बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) रहेका छन् । उनीहरुमध्ये अधिकांशले राष्ट्रिय निर्वाचनअघि महाधिवेशन सम्भव नभएकाले त्यसपछि नियमित महाधिवेशनमा जाँदा उपयुक्त हुने सुझाव दिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
राष्ट्रिय निर्वाचनअघि पार्टी महाधिवेशनतिर जाँदा तयारी नपुग्ने उनीहरुको तर्क थियो । अधिकांश साथीहरुले राष्ट्रिय निर्वाचन घोषणा भएकाले त्यता प्राथमिकता दिऊँ, त्यसपछि नियमित महाधिवेशन गर्ने कुरा त गर्नैपर्छ भन्ने कुरा धेरै साथीहरुले राख्नुभयो’ महतले संचारकर्मीहरुसँग भने,‘केही साथीहरुले अहिले सम्भव छ भन्ने धारणा राख्नुभएको छ ।’
उनले महाधिवेशनमा जाने कुरामा कुनै विमति नरहे पनि चुनावअघिकि पछि भन्नेमा मात्र मतभिन्ता रहे पनि अधिकांशले अहिलेलाई चुनावमै केन्द्रीत हुन सुझाव दिएको दाबी पनि गरे । उनले फागुनपछि नियिमित महाधिवेशन गर्दैमा विधानमाथि प्रश्न नउठ्ने पनि बताए । ‘विधानकै कुरा गर्ने हो भने त धेरै कुराहरुमै धेरै प्रश्न छ । तथापि, मूल कुरा हामी महाधिवेशनतिर गइरहेका छौं र त्ययले नयाँ पुस्तालाई पनि जोड्छ तर विशेष महाधिवेशनबाट त्यस्तो सम्भावना रहँदैन’ महतले भने,‘साथीहरु सबैले महाधिवेशनमै जाने बोल्नुभएको छ । तर, पहिला जाने कि पछि जाने भन्नेमा मात्रै मतभिन्नता हो ।अधिकांश साथीहरुले अहिले निर्वाचमा पार्टी केन्द्रीत होस भन्ने सुझाव राख्नुभएको छ ।’
केन्द्रीय सदस्य प्रदिप पौडेलले विशेष महाधिवेशनभन्दा पनि नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर मात्र २१ फागुनको चुनावमा जानु उपयुक्त हुने बताए । उनले पार्टीभित्र विशेष महाधिवेशन माग भए पनि नियमित महाधिवेशन आयोजना गरेर जाँदा मात्र पार्टी वडा तहसम्म चलायमान भएर नयाँ उत्साह सिर्जना गर्ने बताए । ‘नियमित महाधिवेशन ग¥यौं भने हामीले समयसापेक्ष नेतृत्व बदल्न सक्छौं ।
फेरि संरचनागत उत्साह सिर्जना गर्न सकिन्छ । सबै तहका अधिवेशन हुँदा सबै तहकै संरचनाहरु चलायमान हुन्छन् । पार्टीमा नेतृत्व मात्र होइन, नीति पनि प्रधान कुरा हो । जेनजी उमेर समूहले उठाएका मुद्दादेखि राजनीतिक मुद्दाहरु संविधान संशोधन गरेर जान नीतिगत परिवर्तन जरुरी छ’ नियमिति महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै पौडेलले भने,‘त्यसका लागि महासमिति बैठक वा महाधिवेशनबाट मात्र कांग्रेसलाई सच्याउन सक्छौं ।
२१ फागुनमा निर्वाचन हुँदैछ, निर्वाचनमा हामी कसरी जान्छौं, संविधान कसरी संशोधन कसरी गरिन्छ, त्यो कुरा प्रष्ट भन्नुपर्ने भएकाले संस्थागत निर्णय गर्ने ठाउँ महाधिवेशन नै हो ।’
केन्द्रीय समितिको समयावधि एक वर्ष थपेर जाँदा महाधिवेशन प्रतिनिधिहरुको पनि म्याद थपिने भएकाले उनीहरुको हस्ताक्षर सम्बोधन गरेर जाँदा विधानअनुसार पनि तीन महिनाभित्र महाधिवेशन गर्नैपर्ने बाध्यताले नयाँ नेतृत्व लिएर मात्र २१ फागुनको चुनावमा जानु उपयुक्त हुने उनको भनाई छ ।
उनले २४ मंसिरभित्र वडा अधिवेशन सकेर पुस मसान्तभित्रै राष्ट्रिय महाधिवेशन गर्न सकिने जिकिर पनि गरे । ‘२४ मंसिरभित्र वडा अधिवेशन गर्ने, पुस मसान्तभित्र महाधिवेशन सक्ने,’ नेता पौडेलले भने, ‘यही नै नेपाली कांग्रेसको अहिलेको समाधान हो । निर्वाचनमा जानका लागि कांग्रेसले गर्नुपर्ने काम पनि यही नै हो ।’ उनले भने ।
यसअघि महामन्त्री थापाले कार्यसम्पादन समितिमा दुई ओटा विकल्प राखेर राष्ट्रिय महाधिवेशन गर्न सकिने प्रस्ताव गरेका थिए । तर, तत्कालीन सभापति शेरबहादुर देउवाले अनुमति नदिएपछि उनको प्रस्ताव एजेण्डा बनेन । जारी केन्द्रीय समिति बैठकमा पनि उनले महाधिवेशनको ठोस कार्यतालिका प्रस्तुत गरेका छैनन् ।
यद्यपि, यसअघि उनले २७ देखि २९ मंसिरसम्म महाधिवशेन गर्न सकिने गरी दुई प्रस्ताव राखेका थिए । अहिले केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाको प्रस्तावलाई असफल बनाउनेगरी संस्थापन पक्ष एकमत भएको छ । अहिले महामन्त्री थापा र शर्मालाई माथि उठ्न नदिनेगरी संस्थापन पक्ष एकमत भएको हो ।
