काठमाडौं, कात्तिक १७
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)मा पुनः फर्कने संकेत दिएका छन्। तर, उनले त्यसका लागि चारवटा वैचारिक सर्तसहित ‘समाजवादी क्रान्तिको बाटो’ रोज्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
नेता खनालले एमालेप्रति भावनात्मक नाता रहेको बताउँदै पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन र वैचारिक स्पष्टता’ नदेखिएको टिप्पणी गरे। उनका अनुसार, एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अब अनिवार्य दिशातर्फ जान सक्छ।
नेता खनालले एमालेमा पुनः फर्कन सक्ने सम्भावना राख्दै चारवटा प्रमुख वैचारिक सर्त अघि सारेका छन् । जसमा पहिलो सर्त माक्र्सवाद–लेनिनवादलाई व्यवहारिक मार्गदर्शक बनाउने – विचारमा मात्र होइन, संगठन र नीतिमा पनि माक्र्सवादी दृष्टिकोण लागू गर्नुपर्ने छ ।
त्यस्तै दोस्रो सर्त, समाजवादी क्रान्तिको बाटो अपनाउने – पुँजीवादी जनवादी क्रान्तिको चरण पूरा भइसकेकाले अब समाजवादतर्फको रूपान्तरण आवश्यक भएको छ ।
तेस्रोमा नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने – माक्र्सवादलाई नेपाली यथार्थमा ढाल्दै कृषक, श्रमिक र युवाको मिश्रित वर्गीय संरचना अनुरूप नीति निर्माण गर्नुपर्ने रहेको छ।
त्यस्तै देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प गर्ने – आर्थिक निर्भरता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि भइरहेको प्रभावविरुद्ध दृढ प्रतिवद्धता आवश्यक रहेको उनको चौथो सर्त छ ।
खनालका अनुसार, यी चार बुँदामा सहमति हुन सके तत्काल संवाद र सहकार्य सुरु गर्न सकिनेछ।
