काठमाडौं, कात्तिक २०
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा (एमाले) निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गर्न पुगेको छ।
संघका अनुसार मेयर शाहले सामाजिक सञ्जालमा राखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन मात्र नभई राष्ट्रियताको भावनामा समेत चोट पुर्याएको भन्दै कारबाहीको माग गरिएको हो।
युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बालेनले लेखेको स्टाटसले नेपालको स्वाधीनता र मित्रराष्ट्रहरूप्रति असम्मान दर्शाएको दाबी गरे। उनले भने, “देशको प्रमुख सहरका मेयरले अशोभनीय भाषा प्रयोग गरेर राष्ट्रियता कमजोर पार्ने काम गरेका छन्। यस्तो व्यक्तिमाथि कानुनी कारबाही आवश्यक छ।”
गत शनिबार राति मेयर शाहले आफ्नो फेसबुक वालमा अश्लील शब्दसमेत मिसाएर भारत, चीन, अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै स्टाटस लेखेका थिए।
पोस्टलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएपछि उनले केही समयमै उक्त स्टाटस हटाएका थिए, तर त्यसको स्क्रिनशट भने भाइरल बनेको थियो।
त्यसपछि युवा संघका उपाध्यक्ष महराज गुरुङलगायतका नेताहरू साइबर ब्युरो पुगेर उजुरी दर्ताको प्रक्रिया थालेका हुन्।
