काठमाडौं, कात्तिक २०
‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले जनताको भरोसा पूरा गर्न असफल भएको आरोप लगाउँदै गृहमन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन चेतावनी दिएका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, “देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा, ‘जेन्जीलाई कारबाही गर’ मात्र सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।”
उनले सहिदको रगत, नेपाली जनताको आशा र आँसु सम्झन आग्रह गर्दै भनेका छन्, “काम गर्न नसके पद छोड्ने वाचा सम्झनुहोस्, अब त्यो समय आएको छ। दुई महिना बितिसक्दा पनि न हत्यारामाथि कारबाही भयो, न भ्रष्टाचारमाथि।”
गुरुङका अनुसार, देशको हितका लागि आवाज उठाउँदा आफूले भ्रामक समाचार र चरित्रहत्या सहनुपरेको बताए। तर पनि, उनले भनेका छन्, “देश बन्छ भने करोडौं अट्याक सहन तयार छु, तर अब तपाईं (गृहमन्त्री) बाट आशा मरिसकेको छ।”
पोस्टमा उनले थप लेखेका छन्, “हामी लड्यौं योग्य, इमानदार र परिणाम देखाउने नेतृत्वका लागि। यदि जनताको र जिन्जीका मागहरू सम्बोधन भएन भने यो चुनाव हुन दिइने छैन। गृहमन्त्री अझै पनि पदमा टाँसेर बस्ने हो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।”
