कैलाली, कात्तिक २०
कैलाली जिल्ला अदालतमा २००७ सालदेखि हालसम्मका झन्डै ३० हजारभन्दा बढी मुद्दाका मिसिल फेला नपरेका छन्। गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले अदालतमा आगजनी र तोडफोड गरेपछि ठूलो संख्यामा फाइल तथा कागजात नष्ट भएका हुन्।
जिल्ला अदालतका निमित्त श्रेस्तेदार दिवानीराम लोहोरले सार्वजनिक गरेको विवरण अनुसार कुल ३० हजार ३ सय ४४ मुद्दाका मिसिल अहिलेसम्म फेला परेको छैन। तीमध्ये अभिलेख शाखामा मात्र २००७ सालदेखि सञ्चित २९ हजार ७७७ मिसिल हराएको अदालतले जनाएको छ।
मुद्दा दर्ता फाँटका चालू र फैसला भएका २११ मुद्दा, सरल–१ शाखाका १०७, सरल–२ का २४६, र सामान्य शाखाका तीनवटा मिसिल समेत बेपत्ता भएका छन्।
त्यसैगरी तहशिल शाखामा रहेका एक हजार ६६० निवेदन फाइलहरूमध्ये ठूलो हिस्सा नष्ट भएको छ। चालू आर्थिक वर्ष २०८२र८३ मा दर्ता वा जिम्मेवारी सरेका एक हजार ८३२ मुद्दामध्ये ५६७ फाइल हराएका छन्।
तर, अदालतका अनुसार करिब दुई हजार ४०१ मुद्दाका फाइलहरू भने सुरक्षित अवस्थामा भेटिएका छन्।
जलेर नष्ट भएका मिसिल पुनःप्राप्तिका लागि अदालतले सर्वोच्च अदालतबाट जारी “विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति तथा प्रमाणीकरण निर्देशिका, २०८२” अनुसार प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
अदालतले सरोकारवाला पक्षहरू — कानून व्यवसायी, सरकारी वकिल कार्यालय, अनुसन्धान निकाय र सम्बन्धित व्यक्ति — लाई आफ्नैमा भएका अभियोपत्र, फिरादपत्र, प्रतिउत्तरपत्र लगायतका प्रतिलिपिहरू अदालतमा बुझाउन आग्रह गरेको छ।
अदालतका अनुसार ती कागजातका आधारमा हराएका मिसिल पुनःनिर्माण र प्रमाणीकरण गरिनेछ। साथै, केही मुद्दा सर्वोच्च वा उच्च अदालत दिपायलमा पठाइएका हुनसक्ने भएकाले ती अदालतहरूसँग पनि समन्वय भइरहेको जनाएको छ।
