धनगढी, कात्तिक २० गते
जेनजी आन्दोलनको क्रममा क्षतिपछि ठप्प सुदूरपश्चिम प्रदेश सभालाई चाँडै सञ्चालन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले प्रदेश सभा यथाशिघ्र सञ्चालन गर्ने निर्णय गरेको हो । जेनजी आन्दोलनकारीले भदौ २४ गते प्रदेश सभामा आगजनी र तोडफोड गरेका थिए । जसबाट प्रदेश सभामा ९० प्रतिशत क्षति भएको थियो । तोडफोड र आगजनीपछि प्रदेश सभा सञ्चालन हुन सकेको छैन । सभाको बैठक अझै अनिश्चित रहेको छ ।
यसैगरी, बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई थप स्पष्ट गरिएको परिपत्र अनुसार प्रदेश सरकारका काम कारबाहीहरु प्रदेश ऐन र कानुन बमोजिम कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यसैगरी, प्रदेश सुरक्षा संयन्त्रलाई मजबुत बनाउन सुरक्षा सम्बन्धी भदौं २३, २४ गतेभन्दा पहिला भएको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारले निर्देशन दिने निर्णय गरिएको छ । साथै, थप आवश्यक सुरक्षा सम्बन्धी व्यवस्था प्रदेश सुरक्षा समितिको निर्णय अनुसार गरिने बैठकले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।
बैठकमा सभामुख भीमबहादुर भण्डारी, नेकपा (एमाले) का संसदीय दलको नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका दलको नेता घनश्याम चौधरी, राप्रपाका दलको नेता खेमादेवी विष्ट, नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी उपस्थित रहेका थिए ।
यसैगरी, नेकपा (माओवादी केन्द्र) का उपनेता अक्कलबहादुर रावल, नेपाली कांग्रेसका पदमबहादुर शाहीको पनि बैठकमा उपस्थिति रहेको थियो ।
