टीकापुर, कात्तिक २९ गते
भारत–चीन जोडने त्रिदेशीय मार्ग सेती राजमार्ग निर्माणमा तिव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले दवाव समूह गठन भएको छ ।
आ.व. २०६६/६७ मा शुरु भएको ३५९ किलोमिटर सेती राजमार्ग निर्माणमा ढिलाइ भएको भन्दै सेती राजमार्ग सिघ्र निर्माणका लागि नागरिक दवाव समूह गठन भएको छ ।
मोहन्याल गाउँपालिका केन्द्रमा बुधबार भएको जनप्रतिनिधि, पत्रकार र स्थानीयहरुको भेलालले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रेमबहादुर कुँवरको संयोजकत्वमा दवाव समूह गठन गरेको छ । सेती राजमार्ग पर्ने पालिकाका प्रमुख वा प्रतिनिधि यसको सदस्य रहनेछन् । सेती राजमार्गमा काम बाँकी रहेका पालिकाका प्रमुखहरुको प्रस्तावमा यस्तो समूह बनेको हो ।
समितिले आ.व. २०८३/८४ मा दक्षिण खण्डका खारखोला, ठूलीगाड र सेती नदीमा पुल निर्माण शुरु गर्न, अछाम, बाजुरा र बझाङमा ट्रयाक खोल्न प्रयाप्त बजेट छुट्टयाउन र ट्रयाक खुलिसकेको सडकलाई कालोपत्रे गर्न बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउने संयोजक कुँवरले जानकारी दिए ।
आयोजनाका प्राविधिकहरुले बजेट अभाव भएको गुनासो गर्दै आएका छन् । राष्ट्रिय गौरबकै योजनाका रुपमा बन्नु पर्ने सडक निर्माणमा ढिलाई हुँदा नागरिकको समय र स्रोत खेर गैरहेको र नागरिकको व्यक्तिगत र विकासको गति रोकिएको कुँवरको भनाई छ ।
सेती राजमार्ग बनेमा कैलाली–डोटी–अछाम–बाजुरा–बझाङ सिधै जोडिनेछन् हालको यात्राको दूरी ५० प्रतिशतले घटनेछ । यही राजमार्गमा मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गमा जोडिदा कर्णाली प्रदेशका मानिसहरु पनि छोटो बाटो तराई झर्न पाउनेछन् । दुई प्रदेशलाई जोडने छोटोबाट निर्माण गर्न ढिलो भैसकेको टीकापुरमा व्यवसायी ज्ञानेन्द्र शाह बताउछन् ।
सेती राजमार्गमा यातायात सञ्चालन गर्न माग
सेती राजमार्गमा यातायात सञ्चालन गर्नुपर्ने माग भएको छ । सेती राजमार्गअन्तरगत कैलालीको बौनियाँदेखि डोटीको सीमाना ठूलीगाडसम्म ट्रयाक खोलिएको ५३ किलोमिटर सडकमा यातायात चलाउन स्थानीयले माग गरेका हुन् ।
ट्रयाक खोलिएको ५३ किलोमिटर सडकले कैलालीको तराईमा पर्ने बर्दगोरिया र पहाडी पालिका मोहन्यालको प्रशासनिक केन्द्र सिमडीलाई जोडेको छ ।
खिमडी पुगेपछि ठूलीगाड तरेर डोटीको बडिकेदार र बोगटानफुडसिल गाउँपालिका जान सकिने भएकाले त्यहाँका मानिसहरु मानिसहरु पनि यही बाटो जाने गरेका छन् । यो बाटो भिमदत्त राजमार्ग बन्नुअघि तराईबाट हाट लिएर पहाड जाने बाटो हो ।
‘बौनियाँकी सरस्वती विकले भनिन, पहाडको उकालो सम्झेर कहिल्यै पहाड चढिन, फुपू दाजुहरु भेटन तराई नै जान्थे यसपटक जीप आएपछि भेटन आएँ ।’
बौनियाँदेखि चोसेकाँडासम्म बस सेवा शुरु छ । यस बाटोमा २७ किलोमिटरको २५० रुपियाँ मात्रै भाडा छ । तर बौनियाँ–खिमडी सडकमा चल्ने जीपहरुले ५३ किलोमिटर बाटोमा प्रति यात्री ७०० रुपियाँ भाडा दिने गरेका छन् ।
महँगो भाडा, एउटै जीपमा ३० जनासम्म सवारी राख्ने गरेका छन् । यात्रीलाई गाडीभित्र, छतमा, दायाँबाँया र पछाडि झुण्ड्याएर लैजाने गरेकाले बालबालिका र बुढाबुढीले यात्रा गर्न सकिने अवस्था छैन् ।
सबै यात्रीले सहज रुपमा यात्रा गर्न पाउन भनेर कैलाली खण्डमा यातायात सेवा चलाउन माग गरेका हौं, कैलालीको बर्दगोरिया गाउँपालिका–१ का वडाध्यक्ष मिथुन गौतमले भने, बनेको सडकमा यातायात चलाउदै बाँकी सडक छिटो निर्माण होस ।
