बाजुरा ,कात्तिक २९
जिल्लाको हिमाली गाउँपालिका –६ धुलाचौरमा सुविधायुक्त स्वास्थ्य चौकी निर्माण गरिएको छ । सुविधायुक्त स्वास्थ्य चौकी भवन नहुँदा बिरामीहरुलाई उपचार गर्न निकै कठिनाइ हुने गरेको थियो ।
अहिले विकट क्षेत्रमा रहेका यहाँका स्थानीयहरुलाई राम्रोसँग स्वास्थ्य सेवा दिने गरेर पालिकाले यहाँ सुविधायुक्त स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो ।
पहिला सामान्य बिरामी हुँदा पनि कोल्टी जानु पथ्र्यो । त्यहाँ जाँदा निकै समस्या हुन्थ्यो । अहिले गाउँमै रहेका स्वास्थ्य संस्थाको नयाँ सुविधायुक्त भवन निर्माण भएपछि उपचारमा निकै सहज भएको हिमाली गाउँपालिका –६ कि मनसरी रावतले बताइन ।
उनले भनिन, “पहिला राम्रो भवन नहुँदा यहाँका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन समेत असहज हुने गथ्र्यो । यहाँका अधिकाशं गर्भवती महिला सुत्ेकरी गराउन कोल्टीमा लानु पथ्र्यो । कोही महिलाहरु ढिला हुँदा बीचबाटोमै सुत्ेकरी हुने गथ्र्ये । ”
अहिले गाउँमै यहाँको स्वास्थ्य चौकीमा राम्रो र सुविधायुक्त भवन निर्माण भएपछि ती गर्भवती महिलाहरुका लागि समेत सुत्केरी हुन निकै सहज भएको रावतले बताए ।
धुलाचौर स्वास्थ्यचौकीमा सुविधायुक्त नयाँ भवन निर्माण भएपछि अहिले यहाँ आउने गरेका सबै बिरामीहरुलाई राम्रोसँग सेवा दिन निकै सहज भएको धुलाचौर स्वास्थ्यचौकीका स्वास्थ्य प्रमुख लक्ष्मणबहादुर विष्टले बताए ।
उनले भने, “पहिला सानो कर्कटपाताले निर्माण गरेको सानो भवन थियो । हामीले त्यसैमा बिरामीहरुको उपचार गर्दा निकै असहज हुने गथ्र्यो । ”
अहिले तीन तलाको सुविधायुक्त नयाँ भवन निर्माण भएको छ । त्यसमा र्याम सहितको व्यवस्था छ । अहिले ह्वीलचियरमा बिरामीहरुलाई राखेर माथिल्लो तलासम्म लान सकिन्छ । अहिले यो भवन निर्माण भएपछि हामीलाई जुन सुकै खालका बिरामीहरुलाई समेत स्वास्थ्य सेवा प्रभाव गर्न निकै सहज भएको विष्टले बताए ।
आर्थिक वर्ष २०८० / ८१ मा पालिका र सङ्घीय सकारको दुई करोड भन्दाबढी लगानीमा निर्माण गरिएको सो भवन २०८२ असारमा सम्पन्न गरिएको थियो ।
भवन निर्माणको काम सम्पन्न भएसँगै अहिले सोही भवनदेखि सबै सेवा दिने गरेको छ । अहिले यहाँ आउने गरेका सबै प्रकारका बिरामीहरुलाई उपचार सेवा लिन निकै सहज भएको छ । बिरामीहरुलाई उपचार गर्नका लागि आउने गरेको सहयोगीहरुका लागि समेत बस्न र सुत्नको समेत राम्रो व्यवस्था छ ।
दुर्गम पालिकाको रुपमा रहेको हिमाली गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै राम्रो व्यवस्था गर्दै आएको छ । यहाँका गाउँबस्तीमा रहेका सबै स्वास्थ्य संस्थाका भवन समेत राम्रो सुविधा सम्पन्न रहेका छन् । हिमाली गाउँपालिकाले यहाँका प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य संस्थाको भवन निर्माणकार्यमा निकै जोड दिदै आएपछि अहिले यहाँका स्वास्थ्य संस्थाका भवन नयाँ र सुविधायुक्त रहेका छन्् ।
धुलाचौर स्वास्थ्यचौकीमा प्राय पालिकाभरिका स्थानीय उपचारका लागि आउने गरेकोले हामीले उनीहरुलाई राम्रो स्वास्थ्य सेवा प्रवाह गर्ने गरेर पछिल्लो समय स्वास्थ्यमा लगानी गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।
उनले भने , “ गत आर्थिक वर्षमा पालिकाको एक करोड र संघीय सरकारको एक करोड गरेर दुई करोडमा धुलाचौर स्वास्थ्य चौकीको सुविधा सम्पन्न स्वास्थ्य चौकी नयाँ भवन निर्माण गरेको हो ।”
