काठमाडौं, १८ मंसिर ।
सशस्त्र प्रहरी बलले ’जेनजी’ आन्दोलनका क्रममा संगठनको आन्तरिक सुरक्षा कमजोरीबारे छानबिन गरेको छ । छानबिनका क्रममा सशस्त्रले प्रदर्शनको सुरुआती अवस्थामै प्रहरीसँग सशस्त्र प्रहरी बलको प्रयोग प्रभावकारी हुन नसक्ने निष्कर्ष निकालेको छ ।
सशस्त्र प्रहरी बलका एक अधिकारीले भने, “सामान्य प्रदर्शनमा पनि सशस्त्र प्रहरी बल सुरुआती अवस्थामा नै परिचालन हुँदा प्रहरीसित काम गर्ने तालमेल नै मिलेन । जसको कारण केही कमजोरी देखिए ।“
सकेसम्म सुरुआती अवस्थामा जति सकिन्छ प्रहरीले नै दंगा नियन्त्रण गर्ने र अवस्था बिग्रिने अवस्थामा सबै जिम्मा सशस्त्र प्रहरी बललाई दिएर प्रहरी सहयोगीका रूपमा खटिनुपर्ने सशस्त्रको निष्कर्ष छ ।
’जेनजी’ प्रदर्शनमा आफ्ना हतियारसमेत लुटिएको बारेमा पनि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन गरेको छ ।
प्रदर्शनका क्रममा सशस्त्र प्रहरी बलको बानेश्वरस्थित सुरक्षा बेसबाट सशस्त्र प्रहरी बलको ११ थान एसएलआर राइफलसमेत जलेको थियो । सुरक्षा बेसका कमान्डर सशस्त्र प्रहरी बलका डीएसपी गौतम कुवँर थिए ।
छानबिनका क्रममा डीएसपी कुवँरले हतियारसमेत जोगाउन नसकेको भन्दै विभागीय कारबाहीका लागि सिफासिर गरिएको छ । सशस्त्र प्रहरी बलको मुख्यालयले गरेको छानबिन प्रतिवेदन बलका प्रमुख आईजीपी राजु आर्याललाई बुझाइएको छ ।
एक अधिकारीका अनुसार डीएसपीले प्रदर्शनबारे विश्लेषण गर्न नसकेको, समयमै आफ्नो टोलीलाई परिचालन गर्न नसकेको, सबै सुरक्षाकर्मी कार्यालय छोड्दा हतियार नबोकी निस्केको खुलेपछि डीएसपीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको हो । सुरक्षा फौजमा हतियार जोगाउनु नसक्नु गम्भीर सुरक्षा चुकका रूपमा हेरिने गर्छ ।
