काठमाडौं, २६ मंसिर ।
काठमाडौं । एमाले सचिवालय बैठक सकेलगत्तै केपी ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरु छुट्टा छुट्टै गुट भेलामा लागेका छन् । दुवै समूहका नेताहरु आन्तरिक रणनीति बनाउन भेलामा लागेका हुन् । ओली पक्षका नेताहरु यतिबेला जर्मन होम्समा बसेका छन भने पोखरेल पक्षको थापागाँउमा बसेका छन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीको सूची प्यानलसहितको रणनीतिमा छलफल थालिएको हो । पोखरेल पक्षले सचिवालय बैठकमा मनोनित प्रतिनीधिको बारेमा आपत्ति जनाएपछि अहिले दुवै पक्षका नेताहरु आपसमा छलफलमा जुटेका हुन् ।
विधानलाई ब्युँताएर पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने संस्थापन पक्षको प्रस्ताव असफल पारेको भन्दै पोखरेल पक्ष समूह उत्साही बनेको छ । यद्यपि दुवैतिरका नेताहरूले ३ महिनाअघि मात्र पारित भएको विधानलाई चलाउन व्यवहारिक नहुने भन्दै संशोधन नगर्ने सहमति बनेको औपचारिक प्रतिक्रिया दिएका छन् । अब ओली समूहमा नआँटेका र भड्केका नेताहरू आफ्नो पक्षमा आउन सक्ने आँकलनसहित उनीहरू केही पदहरूलाई ‘गिभ एण्ड टेकका लागि’ सुरक्षित राख्दै प्यानलको छलफलमा लागेका छन् ।
सचिवलाय बैठकमा ५ प्रतिशतले हुन आउने १०८ जना प्रतिनिधि मनोनीतमा पनि सहमति जुट्न सकेको छैन । संस्थापन र ईश्वर पोखरेल समूहबाट गरी २ सयभन्दा केही बढी नाम प्रस्तुत भएकाले त्यसलाई भोलिसम्म टुंग्याउने गरी अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ ।
