चुनावी रौनक
काठमाडौं, ११ पुस ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यको निर्वाचन नजिकै जाँदा दलहरूबिच गठबन्धन गर्न दौडधुप चलिरहेको छ । कांग्रेस एमाले र नेकपाबिच ककसको तालमेल हुने हो अझै निर्णय भइरहेको छैन । आगामी फागुन २० मा कार्यकाल सकिने १९ जना सदस्यमध्ये १८ जनाको स्थानमा माघ ११ मा निर्वाचन तोकिएको छ । नेताहरुको दौडधुप देख्दा अहिले एमाले र नेकपाबिच गठबन्धन हुने सम्भावना देखिएको छैन, काँग्रेससँग एमाले र नेकपाले गठबन्धन गर्न ताकेता गरिरहेका छन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष मतदाता रहने यस निर्वाचनमा ७ प्रदेशबाट रिक्त रहेको स्थान पूर्ति गर्नुपर्ने छ । जसमा कोसी प्रदेशबाट ३ जना, मधेस प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २÷२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचनमा प्रदेश सभा सदस्यको मत भार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष,उपाध्यक्षको मत भार १९ रहेको छ । कोसी प्रदेशमा १० हजार १ सय ३५, मधेसमा १० हजार ८ सय ३९, बागमतीमा १० हजार ३ सय ५२, गण्डकीमा ६ हजार ४ सय १०, लुम्बिनीमा ८ हजार ७ सय ५३, कर्णालीमा ५ हजार १ सय २२ र सुदूरपश्चिममा ६ हजार १ सय ५३ मत भार रहेको छ ।
यसबिचमा कांग्रेस सभापति शेरबहादुर देउवासँग एमाले अध्यक्ष केपी ओलीले दुई पटक भेट गरेका छन् । जसमा राष्ट्रिय सभामा गठबन्धन गर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्ने विषयमा छलफल भएको छ । छलफल सकारात्मक भए पनि कांग्रेस यस विषयमा मौन छ ।
स्रोतका अनुसार, अहिले प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले निर्वाचन भइ हालेमा सरकार बनाउँदा समेतको अवस्थालाई ख्याल गरिरहेको छ । तर अन्तिममा प्रदेश सरकारमा पनि एमालेसँग गठबन्धन भएकाले तत्काल अन्य दलसँग गठबन्धन गरेर जाने अवस्था पनि देखिएको छैन ।
अर्को तर्फ राष्ट्रियसभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई ल्याउनका लागि पनि एमालेसँग गठबन्धन गर्न उपयुक्त हुने कांग्रेसको आन्तरिक निष्कर्ष छ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरे पनि हाल नेकपाका संयोजक पुष्पकमल दाहाल माओवादी अध्यक्ष हुँदा भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेपछि कांग्रेस तत्कालिन माओवादीसँग सहकार्य टुटेको थियो । एमालेले पनि राष्ट्रियसभा उपाध्यक्ष र विधायन व्यवास्थापन समिति सभापति गुमाउने हुँदा त्यसलाई पुन पूर्ति गर्न र आफ्ना गुमेका सिट पुन बढाउन कांग्रेससँग नै गठबन्धन गर्दा फाइदा हुने देखेको छ ।
दुईवर्ष अघिसम्म राष्ट्रियसभा अध्यक्षसहित १८ सिटमा रहेको एमाले अहिले कमजोर अवस्थामा पुगेको छ । त्यति बेला कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनसँगको प्रतिस्पर्धामा एमालेले ८ सिट गुमाएको थियो ।
२०८० माघ ११ मा १९ सदस्यका लागि भएको निर्वाचनमा एमालेबाट रिक्त ९ स्थानमध्ये एक सदस्य मात्रै जोगाउन सफल भएको थियो । कांग्रेस, तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच भएको भागबन्डामा कांग्रेसले १०, माओवादीले ६, नेकपा (एस) ले २ र जसपाले १ सिट पाएका थिए । त्यसमध्ये माओवादीको भागबन्डामा रहेको एक सिट एमालेले जितेको थियो ।
आगामी फागुनमा बिदा हुने एमालेका सांसदहरूमा तुलसा कुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, उपाध्यक्ष विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बिसी, इन्दिरा देवी गौतम, गोपाल भट्टराई, छन् । बिदा हुने नेकपा भित्रका माओवादी तर्फका सांसदहरूमा नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर र राधेश्याम पासवान छन् भने नेकपा भित्र एकीकृत समाजवादी तर्फका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह र मनोनीत बामदेव गौतम रहेका छन् । गौतमको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।
