काठमाडौं, १७ पुस । नेपालको राजनीतिमा मुलधारका पार्टीहरु गठबन्धन गर्ने अवस्थामा पुगेका छन् । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एकापसमा छलफलमा जुटेका छन् ।
कांग्रेस र एमालेबीच सहकार्यको विषयमा छलफल चलिरहेका बेला एमालेसँगको छलफलमा नेकपा पनि मिसिएको छ । ‘नेकपाका नेताहरुसँग छलफल चलिरहेको छ’, स्रोतले भन्यो ‘संभवतः एमाले महासचिव शंकर पोखरेल र वर्षमान पुनबीच छलफल भएको हुनुपर्छ ।’ यसरी उनीहरुबीच चुनावी गठबन्धनबारे छलफल चल्न थालेको हो । प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भए पनि यसले आकार लिने निश्चित नभएको अवस्थामा एमालेसँग नेकपाका नेताहरुले सम्पर्क बढाएका हुन् ।
१७ असार २०८१ मा कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएका एमाले अध्यक्ष ओलीले तत्कालीन सातबुँदे सहमतिबाट एमाले पछि नहटेको भन्दै चुनावमा सहकार्य गर्न देउवालाई प्रस्ताव गरेका थिए । तर नेकपाले कांग्रेससँग सहकार्य गर्ने बताएर यता एमालेसँग कुरा अघि बढाएको स्रोतले जनाएको छ ।
११ माघमा हुने राष्ट्रिय सभा र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन गर्ने प्रस्ताव एमालेबाट आएको कांग्रेस नेताहरू जनाएका थिए । स्थानीय तह प्रमुख÷उपप्रमुख र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गर्ने समूह विजयी हुने निश्चितप्रायः छ । यही आधारमा प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने विषयमा दुई शीर्ष नेताबीच छलफल भइरहेको नेताहरूले बताइरहँदा नेकपाले एमाले र कांगे्रससँग सहकार्यको लागि हात फैलाइरहेको स्रोतको दावी छ ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबारे नेतृत्वबीच छलफल भइरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका थिए । उनका अनुसार राष्ट्रिय सभाका लागि एमाले र नेकपासँग समानान्तर रूपमा छलफल भइरहेको छ । ‘प्रतिनिधिसभा पनि मेरो विचारमा आवश्यकताका आधारमा केही ठाउँमा समीकरण हुन सक्छ तर पहिला (माओवादीसँग) जस्तो सिट नै बाँडेर गरिने गठबन्धन कांग्रेसमा धेरै रुचाइएको छैन,’ उनी भन्छन्, ‘गठबन्धन नगरी एक्लै चुनावमा जाँदा नै राम्रो हुन्छ भन्ने मेरो पनि धारणा छ ।’ उनले बुधबार मात्रै एक अन्र्तवार्तामा भनेका थिए ।
कांग्रेसमा देउवा र उनीनिकट केहीबाहेकका नेता भने गठबन्धनको पक्षमा छैनन् । कांग्रेस नेता शेखर कोइराला स्थानीय तहका नेता तथा कार्यकर्ता पनि गठबन्धनको पक्षमा नरहेको दाबी गर्छन् ।
नेताहरूका अनुसार कांग्रेस सभापति देउवा राष्ट्रिय सभामा एमालेसँगै गठबन्धन गर्ने पक्षमा छन् । २१ फागुनका लागि गठबन्धन गर्ने विषयमा भने देउवाले कुनै प्रस्ट जवाफ दिन सकेका छैनन ।
माओवादीसँग गठबन्धन यात्रा चलिरहेकै बेला ७–१० फागुन २०८० मा गोदावरीमा भएको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले अब कुनै पनि चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव राखेका थिए । सत्ता गठबन्धन जोगाउन कांग्रेसले महामन्त्री थापाको प्रस्तावमा महासमितिबाट तत्काल निर्णय गरेन । तर दुई साता नबित्दै २१ फागुनमा माओवादी कांग्रेससँगको सत्ता गठबन्धन छाडेर एमाले र रास्वपासँग मिल्यो । त्यसपछि भने महासमितिमा राखिएको प्रस्तावमा भाषा संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमितिले गठबन्धन नगर्ने निर्णय ग¥यो । यतिबेला राष्ट्रिय सभाको निर्वाचनको बेला एमाले र कांग्रेस मिल्ने निश्चित भएको बेला नेकपाले एमालेसँग कुराकानी अघि बढाएर भाँजो हाल्न खोजेको बताइन्छ ।
