काठमाडौं, १७ पुस ।
नेपाली कांग्रेसभित्र विवाद चर्केको बेला केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । महाधिवेशनको विषय चरमोत्कषमा पुगेका बेला कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनका लागि अगाडि बढेपछि सभापति शेरबहादुर देउवाले विहिबार दिउँसो कार्यवाहक सभापति पूर्णबहहादुर खड्का, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखक लगायतसँग छलफल गरेका थिए ।
कांग्रेसका नेता शेखर कोइराला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशन आह्वानको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनको विकल्प अगाडि सारेपछि कोइराला र सभापति शेरबहादुर देउवाबिच महाराजगञ्जमा विहिबार दिउँसो २ घण्टा छलफल भएको थियो ।
छलफलपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको घरमा नेता कोइराला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकबीच लामो छलफल भएको हो। कोइरालाले विशेष महाधिवेशनका नाममा केन्द्रीय समितिभन्दा बाहिरबाट कसैले भेला बोलायो भने त्यसले पार्टी विभाजन गर्ने तर्क गर्दै आएका छन्। कोइरालाले केन्द्रीय समिति बाहेकले बोलाउने विशेष महाधिवेशन आफूलाई स्वीकार्य नभएको प्रस्ट पारेका छन्। विहिबार नै गगन थापा दस्तावेज लेख्न धुलिखेल पुगेका छन् । विशेष महाधिवेशन बोलाएपछि उनीहरुलाई मिलाउने केही विदेशी शक्तिको दौड चलेको छ ।
