दोलखा, २० पुस।
नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटीले पार्टीभित्र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन्। आन्तरिक छलफल र निर्णय प्रक्रिया जारी रहँदै गर्दा एकल सिफारिस भएको भन्दै सार्वजनिक गरिनु गैरजिम्मेवार र अपमानजनक भएको उनको भनाइ छ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अत्यन्त न्यून मतान्तरले पराजित भएको स्मरण गराउँदै शिवाकोटीले आफू कमजोर उम्मेदवार नभएको दाबी गरेका छन्। निर्वाचन परिणाम सामूहिक प्रयास, परिस्थितिजन्य कारण र संगठनात्मक रणनीतिसँग जोडिएको विषय भएको उल्लेख गर्दै पराजयलाई व्यक्तिगत कमजोरीसँग मात्र जोड्नु अन्यायपूर्ण भएको उनको भनाइ छ।
उनले २०८२ सालमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः उम्मेदवार बन्ने आफ्नो तीव्र इच्छा र अडान यथावत रहेको स्पष्ट पारेका छन्। पार्टी विधान, मापदण्ड र लोकतान्त्रिक अभ्यासअनुसार आफ्नो उम्मेदवारी दाबी कायम रहेको जानकारी उनले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।
शिवाकोटीले २०८२ साल फागुन २१ गते हुने भनिएको आगामी निर्वाचन सन्दर्भमा दोलखा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्ने क्रममा पार्टीको स्थापित मापदण्ड र विधिको गम्भीर उल्लङ्घन भएको आरोप लगाएका छन्। मापदण्डअनुसार एकभन्दा बढी उम्मेदवार दाबी भएमा कम्तीमा एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान हुँदाहुँदै एकल नाम अघि सारिनु गलत भएको उनको भनाइ छ।
अन्त्यमा उनले पार्टी नेतृत्वसमक्ष विधि, न्याय र एकताको मार्ग अवलम्बन गर्दै सबै दाबी गर्ने उम्मेदवारको सम्मान गर्न तथा निष्पक्ष निर्णय गर्न आग्रह गरेका छन्।
