काठमाडौं, २० पुस ।
पूर्व संचार तथा सूचना प्रविधिमन्त्री तथा नेता पार्वत गुरुङलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एकल उम्मेद्वार सिफारिश गर्ने नेकपा एमाले दोलखा जिल्ला कमिटीको निर्णयलाई अर्का नेता बालकृष्ण शिवाकोटीले चुनौति दिएका छन् । ०७९ मा कांग्रेस र माओवादी केन्द्रको महागठबन्धनविरुद्ध चुनाव लड्दा बुथ कब्जा रोक्न नसकेकै कारण ३ सय १५ मतको झिनो मतान्तरले पराजित शिबाकोटीले यस पटक पनि टिकट पाउनुपर्ने जिकिर गर्दै गुरुङलाई चुनौति खडा गरेका हुन् ।
अध्यक्ष ओलीसँग तीन दशकदेखि सिधा पहुँच बनाएका व्यबसायिक पृष्ठभूमिका शिबाकोटीको चुनौतिले एमाले दोलखा तरंगित बनेको छ । शिवाकोटीकी आमाले हरेक वर्ष तिहारमा ओलीलाई भाइका रुपमा टिका लगाउने गरेको र उनलाई भाञ्जा नै सम्बोधन गरिने भएकाले पनि पार्वतलाई बहुमतको निर्णयबाट एकल सिफारिश गर्दा पनि कतै सिधा पहुँचको आधारमा टिकट ल्याउने पो हो कि भन्ने चर्चा पनि चलेको छ । शिबाकोटीलाई पूर्वमन्त्री तथा एघारौं महाधिवेशनमा ईश्वर पोखरेलको प्यानलबाट उपमहासचिवमा पराजित नेता आनन्दप्रसाद पोखरेलले नेपथ्यबाट ढाडस दिइरहेका छन् भने प्रतिनिधिसभामै आकांंक्षी अर्का केन्द्रीय सदस्य श्याम बस्नेतको पनि साथ छ ।
जिल्ला कमिटीको बैठकमा भने अध्यक्ष नरबहादुर श्रेष्ठले केन्द्रमा बसेर सम्पर्क कमिटीको राजनीति गरेकाले प्रत्यक्षमा लड्ने आधार नभएको भन्दै बस्नेतलाई होच्याएको चर्चा छ । उता, ईश्वर पोखरेल प्यानलबाटै सचिवमा पराजित भएकी नेतृ केन्द्रीय सदस्य रचना खड्का पनि आकांक्षी भए पनि उनको नाम पनि पठाउने निर्णय भएन । यद्यपि, खड्का भने गुरुङ र शिबाकोटीको लडाईंमा तटस्थ बसेकी छिन् । प्रतिनिधिसभामै जिल्ला समन्वय समितिका पूर्व संयोजक तथा पूर्व केन्द्रीय सल्लाहकार डबल पाण्डेले पनि दाबी गरेका छन् ।
तर, पाण्डेलाई भने अन्तिममा गुरुङले नै जिल्ला अध्यक्ष या प्रदेशसभा खबाट उम्मेद्वार बनाउनेगरी तयारीमा राख्ने बताइन्छ । दशौं र एघारौं महाधिवेशनमा ओलीलाई अध्यक्ष जिताउन वागमतीमै महत्वपूर्ण भूमिका खेलेका गुरुङ पछाडि हट्दा अघिल्लो पटक बालकृष्णलाई सहज बनेको थियो । तर, यस पटक भने जिल्लामा ८० प्रतिशत जिल्ला नेतृत्व र कार्यकर्तामा पकड बनाएका उनी आफै तलको सुझावबाट अघि सर्दा शिबाकोटीको आकांक्षामाथि तुषारापात भएको हो ।
यद्यपि, जिल्लामा भने उनलाई अध्यक्षका उम्मेद्वार ईश्वर पोखरेल प्यानलतिर खुलेका केन्द्रीय नेतृ खड्काबाहेक सबैले खुलेर समर्थन गरेका छन् । केन्द्रमा ओलीसँगै पूर्व राष्ट्रपति भण्डारीसँग पनि समानन्तर सम्बन्धमा रहेका शिबाकोटी मदन भण्डारी फाउण्डेशनको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए । तर, महाधिवेशनको संघारमा भने भण्डारी सकृय सदस्यता नविकरण गरेर मैदानामा नआएको भन्दै उनी ओलीतिरै खुलेर लागेका थिए । अघिल्लो पटक कार्यकर्ताहरुले ज्यान दिएर खट्दा पनि जिल्ला, क्षेत्र, काठमाडौं र पालिकाहरुमा गएर सहयोगी नेता–कार्यकर्ताहरुमाथि धन्यवाद आयोजनासमेत नगरेर राजनीतिक चरित्र नै नदेखाएको शिबाकोटीमाथि आरोप छ । यद्यपि, उनीमाथि जनसहानुभूति भने उल्लेख्य नै देखिन्छ ।
त्यही जनसहानुभूतिबाट उत्साहित शिबाकोटीले पूर्वमन्त्री पोखरेल निकट जिल्लास्तरीय नेताहरुलाई साथमा लिएर जिल्ला कमिटीको निर्णयप्रति असहमति राख्दै चरिकोटमा अलग्गै पत्रकार सम्मेलन राखेका थिए । जहाँ उनले आफूविरुद्ध जिल्ला कमिटीले लगाएको आरोप मात्र खण्डन गरेनन्, यस पटक जित्ने वलियो उम्मेद्वार आफै भएकाले पार्टी केन्द्रले पठाएको मापदण्डका आधारमा पनि असहमति हुने बितिक्कै सबैको नाममा माथि पठाउनुपर्ने जिकिर गरेका छन् । जिल्ला कमिटीको बैठकमा उम्मेदवारका आकांक्षीहरु बारे छलफल समेत नगरी सुनियोजित ढँगले पार्वत गुरुङको पक्षमा मत जाहेर गर्न लगाएर उम्मेदवार सिफारिस गरिएको उनको भनाई छ ।
गुरुङलाई एकल उम्मेदवार बनाउने निर्णयमा आफु र उम्मेदवारका दावेदारहरु रचना खड्का, श्याम बस्नेत र डवल पाण्डे समेतको असहमति रहेकोसमेत शिबाकोटीको दाबी छ । तर, अन्य दावेदारहरुले भने केही पनि बताएका छैनन् । ‘एमाले जिल्ला अध्यक्षले कसैको निर्देशनमा गलत निर्णय गराएका छन्,–शिवाकोटीले पत्रकार सम्मेलनमा भने,–‘गलत निर्णय र गलत रवैयालाई सहन सकिन्न ।’ शिबाकोटीले विज्ञप्ति जारी गरेर भनेका छन् । एता, पार्टीभित्र मनोमानी र एकलौटी निर्णय गरिएको भन्दै दोलखा एमालेका उपसचिव हरि ओलीसहित दर्जन बढी जिल्ला कमिटी सदस्यले सामुहिक राजीनामा दिएका छन् ।
सचिवालय सदस्य तथा कालिञ्चोक गाउँपालिका अध्यक्षमा पार्टीबाट चुनाव लडेर पराजित उम्मेद्वार गणेश शिवाकोटी, लेखा समितिका संयोजक इश्वरीप्रसाद दहाल, जिक सदस्य गणेशबहादुर शिबाकोटी, पालिका सचिव सुबास थामीसहित दर्जन बढी छन् । राजीनामा दिनेमध्ये अधिकांश पूर्वमन्त्री पोखरेल निकट सदस्य छन् । शिबाकोटीको चुनौतिप्रति खण्डन आसन्न प्रतिनिधिसभा चुनावका लागि एमालेले दोलखाबाट पार्वत गुरुङको एकल नाम सिफारिसबारे शिवाकोटीले आपत्ति जनाएपछि विज्ञप्ति जारी गर्दै जिल्ला कमिटीले खण्डन गरेको छ ।
विज्ञप्तिमा खण्डन गर्दै भनिएको छ, ‘बैठकमा केन्द्रीय सदस्यहरू पार्वत गुरूङ, रचना खड्का, श्याम बस्नेत, केन्द्रीय सल्लाहकार डबल पाण्डे र बागमती प्रदेश कमिटी सचिवालय सदस्यहरू बालकृष्ण शिवाकोटी, कालिका पाठक तथा प्रदेश कमिटी सदस्यहरू सहितको सम्मानित बैठकमा उपस्थितमध्ये पालिका कमिटीको सबै र बहुसंख्यक सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र प्रतिस्पर्धीहरूको राजनीतिक विश्लेषण गर्दै नेकपा एमालेको तर्फबाट कमरेड पार्वत गुरुङलाई एकल उम्मेदवारको रूपमा सिफारिस गर्न मत प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरि उक्त बैठकका अतिथिहरू कमरेड रचना खडका, कमरेड श्याम बस्नेत¸कमरेड डबल पाण्डे र कमरेड बालकृष्ण शिवाकोटीले पनि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभएकोले सोही अनुसार लेखी पठाउने निर्णय गरिएको छ । साथै निर्वाचनमा एकमना एकतासाथ पार्टीलाई विजय गराउने अभियानमा सक्रिय सहभागी हुने निर्णय पनि गरिएको छ ।’ गुरुङ ०७४ को निर्वाचनमा ओली, गोकूल बाँस्कोटासँगै धेरै मतान्तरमा विजयी बन्ने लोकप्रिय सांसद बनेका थिए ।
उनलाई महासचिव शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, डा. राजन भट्टराईलगायतको पनि साथ छ । सोही कारण पनि शिबाकोटी नाम केन्द्रमै आयो भने पनि जिल्लाको निर्णयलाईसमेत आधार मानेर टिकट भने गुरुङले लाने वलियो सम्भावना छ । शिबाकोटीको चुनौतिले भने एमाले पंक्तिलाई केही समय दिग्भ्रमित बनाएर घाटा पु¥याउन सकिने बताइन्छ ।
