काठमाडौं, २० पुस ।
नेकपा एमाले चितवनले आज चितवन क्षेत्र नम्बर १ बाट फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ गरिएको उम्मेदवार सिफारिसको नामावलीमा नेता सुरेन्द्र पाण्डेको नाम छुटाएको छ । यस प्रकरणसँगै पाण्डेमाथि अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले नै एघारौं महाधिवेशनमा महासचिवको उम्मेद्वार बनेर चुनौति दिएकैले प्रतिशोध साँधिएको विश्लेषण गरिएको छ ।
पार्टीको निर्वाचन क्षेत्र नम्बर १ का संयोजक प्रेम दवाडीका अनुसार आज प्रदेश कमिटीले केन्द्रीय, जिल्ला स्तरका नेता तथा क्षेत्र नम्बर १ मा पर्ने ४२ वटा वडा कमिटीका अध्यक्ष तथा जनप्रतिनिधि सहित उम्मेदवार सिफारिस भेला राखेको थियो ।
भेलामा उपस्थित पार्टी नेताहरूबाट इच्छा राखेका ६ जनाको नाम सिफारिस गरेको भेलाले पार्टीका निवर्तमान उपाध्यक्ष पाण्डेको नाम राखेको छैन । जबकि, पाण्डेको निर्वाचन क्षेत्र नै चितवन क्षेत्र नम्बर १ हो । तर, भेलामा ईच्छाइएको व्यक्तिको नाम मात्र राखेर जिल्ला कमिटीमा पठाइएको बताइए पनि सुरुमै पाण्डेको नाम छुटाउनुलाई नियोजित षड्यन्त्रकै रुपमा रहेको भन्दै चितवनमा हंगामा भएको छ । उनी पक्षधर नेता–कार्यकर्ताले चितवनमा एमालेलाई हराउन नेतृत्वले नै नियोजित षड्यन्त्र गरेको भन्दै धमाधम फेसबुक स्टाटस लेख्न थालेका छन् । यद्यपि, कतिपयले भने क्षेत्रको सिफारिशलाई जिल्ला कमिटीको सोमबारको बैठकले सच्याउने अनुमान पनि गरेका छन् ।
पाण्डेलाई वाईपास गरेर चितवन १ बाट पूर्व प्रदेशमन्त्री तथा प्रदेश उपाध्यक्ष दावादोर्जे लामा, जिल्ला अध्यक्ष कमल पाठक, प्रदेश क का संयोजक कृष्णलाल चौधरी, केन्द्रीय विभागका पूर्व सदस्य डा.किशोरचन्द्र खनाल, प्रदेश सचिव भरत भण्डारी र लक्ष्मी कोइराला पोखरेलको नाम उम्मेद्वारका रुपमा सिफारिस गरिएको छ ।


