काठमाडौं, २६ पुस । कवि पार्वती पुडासैनीको पहिलो काव्यकृति ‘छेपारो समय’ कवितासङ्ग्रह र कल्पलता द्वैमासिक पूर्णाङ्क १९ काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ ।
कल्पलता साहित्य परिवारद्वारा जालपा पुस्तकालयमा पुस २६ गते शनिबार आयोजित कल्पलता साप्ताहिक काव्यवाचन २०२औं शृङ्खला कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा अर्थविद् डा. दामोदर पुडासैनी लगायत विशिष्ट अतिथिहरूले दुवै कृति संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. पुडासैनीले कल्पलता साहित्य परिवारले साप्ताहिक रूपमा काव्यवाचन कार्यक्रम संचालन गरी साहित्यिक अनुष्ठान सम्पन्न गर्दै आएको बताए ।
नियमित कार्यक्रममा रचना वाचनपछि गहन विश्लेषण गर्ने परम्परा अगाडि बढाउनु नौलो र गौरवको विषय भएको उनको भनाई थियो । साहित्यको उन्नयनमा विविध कार्यक्रमसहित राम्रो इतिहास कायम गरेको कल्पलता द्वैमासिकले समय सान्दर्भिक कृति ‘छेपारो समय लोकार्पण गरेर साहित्यिक सक्रियताको अर्को उत्कृष्ट काम गरेको चर्चा गर्दै उनले कविलाई कृति सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि अधिवक्ता डा. प्रेमराज सिलवालले कार्यक्रममाथि विश्लेषण, वाचन गरिएका रचनाहरू र विमोचित कृतिबारेमा सटिक समीक्षा गर्दै विश्व दृष्टिकोण बोकेको काव्यवाचन कार्यक्रममा वाचित रचनाहरू अत्यन्तै शक्तिशाली रहेको विचार व्यक्त गरे । लोकार्पित कृति ुछेपारो समयु भाषाशैली, लेखन, सम्पादन र सेटिङ सबै हिसाबले स्मार्ट रहेको टिप्पणी उनले गरे।
कार्यक्रममा साहित्यकार घनबहादुर थापाले लोकार्पित कवितासङ्ग्रह ‘छेपारो समय’को समीक्षा गर्दै कृतिमा सङ्गृहित कविताहरू मानव जीवनका सुख दुख, जीवन दर्शन, पर्यावरण संरक्षण, सामाजिक परिवेशमा आधारित गहन विषयवस्तु समेटिएको चर्चा गरे ।
लोकार्पित कृति कवितासङ्ग्रहकी सर्जक पार्वती पुडासैनीले कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै आफ्नो कृति, रचनागर्भ र लेखनबारे जानकारी दिए ।
कल्पलता साहित्य परिवारका उपाध्यक्ष दिपक बानियाँले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रममा साहित्यकारहरू डा. दामोदर पुडासैनी , देवराज सिंखडा, नर बहादुर बि.सी, घनबहादुर थापा, उमेश पाण्डे, विनोद अधिकारी, सुदर्शन अधिकारी, जे।पी नेपाल, दिपक बानियाँ, टंकबहादुर खत्री, पार्वती पुडासैनी, कृष्ण बानियाँ, रमिता थापा लगायतले आ आफ्नो रचना एवम् लोकार्पित कृति ‘छेपारो समय’बाट कविता वाचन गरेका थिए ।
कल्पलता साहित्य परिवारका अध्यक्ष नर बहादुर बि।सी।ले अध्यक्षताको आसनबाट कार्यक्रम समापन गर्दै पार्वती पुडासैनीको कृति नवीन अर्को सन्तानको रूपमा जन्म भएको र आगामी दिनमा पनि निरन्तर लेखिरहन आग्रह गरे । । उक्त कार्यक्रमको सञ्चालन कल्पलता द्वैमासिकका प्रधान सम्पादक घनबहादुर थापाले गरेका थिए ।
