काठमाडौँ २१ माघ ।
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिएका समस्या जसरी पनि समाधान गर्ने सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएकी छन्।
बुधबार सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न, गरिब, अपांग, अशक्त तथा कमजोर वर्गका लागि लक्षित भएकाले यसलाई गम्भीर रूपमा लिएर तत्काल समाधानतर्फ जानुपर्ने बताइन्।
आवश्यक परे ऋण खोजेर भए पनि बजेटको व्यवस्था गरिने उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले हाल स्वास्थ्य बीमामा खर्च भइरहेको रकमअनुसार सेवाग्राहीले उपचार नपाइरहेको अवस्था देखिएको भन्दै यसलाई छाडा रूपमा सञ्चालन गर्न नहुने स्पष्ट गरिन्। उनले कार्यक्रमलाई कडा नियमन गर्दै एकद्वार प्रणालीमार्फत प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्।
‘गरिब र असहाय मानिसहरूका लागि बनाइएको कार्यक्रममा पैसा त गइरहेको छ, तर उपचार पाइरहेका छैनन्। यो अवस्था स्वीकार्य हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्।
अर्थमन्त्री विदेश भ्रमणमा रहेकाले उहाँ फर्किएपछि तत्काल छलफल गरी आवश्यक निर्णय लिइने पनि उनले जानकारी दिइन्। सरकारले ढिलाइ नगरी स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार र व्यवस्थित गर्ने दिशामा अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ।
