काठमाडौं, २१ माघ ।
इटाली पठाइदिने भन्दै पाँच बंगलादेशी नागरिकलाई काठमाडौं बोलाएर अपहरण गरिएको छ। अपहरणमा संलग्न पाँच बंगलादेशी नागरिक, एक भारतीय र एक नेपाली पक्राउ परेका छन्।
बुढानीलकण्ठको भंगालस्थित एक घरबाट पाँच बंगलादेशीको उद्धार गरी अपहरणमा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए।
पक्राउ परेकाउपर शरीर बन्धक तथा ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। युरोप पठाइदिने भन्दै नेपाल बोलाएर उनीहरूलाई बन्धक बनाई फिरौती मागिएको सूचनाका आधारमा प्रहरीले सो घरमा छापा हानेको हो।

