नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन् । कुशल सर्जक उपाध्यायको नाम विश्वका दर्जनौं कीर्तिमानी पुस्तकमा दर्ज छ । गिनिज बुक अफ वल्र्ड रेकर्डदेखि अमेरिकन बुक अफ रेकर्डसम्मका पुस्तकमा उनको नाम भेटिन्छ । उनले राखेका कीर्तिमानले नेपाली भाषा, साहित्य र सिर्जनात्मकताको गौरवलाई उँचो बनाएको छ ।
नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ । ‘लेखन मेरो श्वास हो, म बाँच्दासम्म सिर्जना गरिरहन्छु,’ उपाध्यायको यो भनाइले उनीभित्रको सिर्जनात्मक आत्मालाई प्रस्ट पार्छ । साहित्य, गीत, कविता, निबन्ध, रेकर्ड— कुनै सीमाले उनलाई रोकेको छैन ।
बहुप्रतिभाका धनी डा. उपाध्यायका सिर्जनाको लहर गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विभिन्न वल्र्ड रेकर्ड प्रदान गर्ने विश्वका दर्जनभन्दा बढी संस्थासम्म पुगेको छ ।
उनले गीत, सङ्गीत र विविध क्षेत्रमा नयाँ सिर्जना गरेर १५३ विश्व रेकर्ड कायम गरेका छन् । उनी विश्वमा अधिक कीर्तिमान कायम गर्ने विशिष्ट स्रष्टाको शीर्ष दशमा पर्छन् । उनी विश्व रेकर्डका प्रतिविम्ब बनेका छन् भन्दा अतिरञ्जना नहोला । गीत, सङ्गीत र साहित्य सिर्जनामा यति विघ्न विश्व रेकर्ड कायम गर्ने क्षमताका धनी डा. उपाध्याय यस क्षेत्रको गौरव हुन् ।
माता उमादेवी र पिता शिवशंकर प्रसाद उपाध्याय खनालका कान्छा सुपुत्रका रूपमा पर्साको वीरगञ्जमा सन् १९६२ मा जन्मिएका धर्मराज उपाध्याय आज डा. डीआर उपाध्याय÷खनालका नामले लोकप्रसिद्ध छन् । उहाँको प्रारम्भिक शिक्षा वीरगञ्जकै त्रि–जुद्ध व्यावसायिक माविमा भएको थियो । उच्च शिक्षा ग्रहणको लागि नेपालको राजधानी काठमाडौं आएका उपाध्यायले नेपालबाट उच्च शिक्षा गरे । त्यसपश्चात् उनले भारतबाट विद्यावारिधि सम्मको उपाधि हासिल गरे ।
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।’ कर्म गर तर, कर्मका फलको इच्छा नगर अर्थात् कर्म गरेपछि स्वतः कर्म अनुसारको फल प्राप्त हुन्छ भन्ने गीता मर्म सानो छँदै बुबामार्फत् बुझेका उपाध्याय विद्यावारिधिमा मात्र सीमित भएर बसेनन् । उनले यसलाई साधन ठाने न कि साध्य । विद्यावारिधिले उनलाई अझ देश र समाजप्रतिको जिम्मेदारीको बोध भयो । उनमा जन्मिएपछि केही सुकर्म गरेरै जानुपर्छ भन्ने ज्ञान पलायो । यसै ज्ञानको बलले उनलाई आफूमा रहेको प्रतिभाको बोध भयो । उनले कलम समाए र गीतकार भए, कवि, साहित्यकार भए । उनले विधाहरूको पहिचान गरे तिनमा शिल्पको जडी भरे । उनी विश्व रेकर्डका नसा नसामा भिजे र तिनमाथि विजय प्राप्त गरे ।
गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको पछिल्लो कृति ‘आसक्ति’सहित सत्र उपन्यास सार्वजनिक भएका छन् । उनका ‘बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर, मझधार, आशक्ति’जस्ता उपन्यास कृतिहरू पाठकमाझ छन् ।
समाजका विविध स्वरूपको पर्यवेक्षण गर्दै गतिशील सामाजिक मूल्यमा आस्था राख्ने कीर्तिमानी गीतकार उपाध्याय आफूभित्रको सिर्जनशील प्रतिभाको सफल प्रदर्शन गर्दै कला साहित्यको आराधनामा तल्लीन छन् । बहुआयामिक व्यक्तित्वका धनी उपाध्यायको प्रसिद्धि गीतकारका रूपमा अझ उच्च छ । कला र साहित्यलाई समाजको दर्पण ठान्ने उनका सिर्जनामा जीवन जगत्को यथार्थपरक प्रस्तुति पाइन्छ ।
सानै उमेरदेखि जिज्ञासु उनमा हरेक विषयलाई सूक्ष्म ढंगले निरीक्षण गर्ने र त्यसका विभिन्न पक्षलाई मौलिक ढंगले चिन्तन गर्ने विलक्षण स्वभाव थियो । कला, साहित्यलाई विचार र संवेदना अभिव्यक्तिको सशक्त माध्यम पनि भनिन्छ । चिन्तनशील र भावुक स्वभावका उपाध्यायलाई पनि आफ्ना विचार र भावको भेल बगाउन यहीँ माध्यम उपयुक्त लाग्यो । मनका छाल र हृदयका तरंगहरू शान्त पार्न उनले सिर्जनाको गोरेटो राजे । सिर्जनाको त्यो बिज आज विशाल वटवृक्षमा पल्लवीत भएको छ ।
कलिलो उमेरदेखि नै उनमा गीत तथा कविता लेखनमा गजबको अनुराग थियो । विभिन्न कविता तथा गीतहरू कोरेर दाइदिदी तथा आफ्ना संगीहरूलाई देखाउँथे । सबै जनाबाट प्रसंशा र हौसला पाएपछि उनको मनमा अझ उत्साह भरिन्थ्यो । कलिलो उमेरबाटै गाढा बनेको कलमप्रतिको मोहले उनको यात्रा पनि कलासाहित्यको सेरोफेरोमै अघि बढ्न थाल्यो ।
मानिसका रुचि एकै किसिमका हुँदैनन् । सफलताको उचाइँमा पुग्ने चाहना धेरैलाई हुने भए पनि त्यसको प्राप्ति सहज पक्कै हुँदैन । प्रकृतिले नै प्रत्येक मानिसमा जन्मजात फरक–फरक क्षमता र रहरको संयोजन गराइदिएको हुन्छ । रुचि र खुबीको मिलन भयो र त्यसको भरपुर उपयोग गरियोे भने मात्र सफलताका सिँढीरू उक्लिन सकिन्छ । सयौं कालजयी गीतका स्रष्टा डा. उपाध्याय पनि आफूभित्रको सिर्जनात्मक शक्ति र रुचि बुझेर यस क्षेत्रमा होमिएको बताउँछन् । जसको फलस्वरूप आज गीत संगीतको फाँटमा उनी सशक्त स्रष्टाको रूपमा परिचित छन् ।
मानिस आफैंमा विशिष्ट र मौलिक हुनुपर्छ :
धेरैको जीवनबाट प्रेरणा र प्रभाव ग्रहण गरे पनि हरेक मानिस आफैंमा विशिष्ट र मौलिक हुनुपर्छ भन्ने गीतकार डा. उपाध्यायको मान्यता छ । त्यसैले त उनी आफ्नो छुट्टै पहिचान र अस्तित्वको खोजी गरिरहन्छन् । स्रष्टाको पगरी भिरेपछि निर्माण भइसकेको बाटोमा हिँडेर मात्र पुग्दैन, नयाँ गोरेटो पनि पहिल्याउनुपर्छ भन्ने उनको धारणा हो । यही मान्यताका साथ कलाकर्ममा समर्पित डा. उपाध्यायको गीतकारहरूका बीच पनि बेग्लै परिचय बनिसकेको छ ।
प्रतिभाका कुवेर डा. उपाध्याय सिर्जनाको गोरेटोमा सधैँं उत्साहित बनेर कविता, गीत र उपन्यासहरू कोरलिरहन्छन् । कठोर साधना र दृढ अठोटको बलमा उनीभित्रको प्रतिभाले चियाउने अवसर पाएको छ । निःस्वार्थ भावले आफ्नो कर्ममा तल्लीन भएमा त्यसबाट विशेष आनन्दको अनुभूति हुने गर्दछ । अव्यक्त अभिप्राय र स्वार्थबाट प्रेरित सिर्जनाले पाठकको हृदय छाम्न सक्दैन । चिन्तन बिनाको साहित्यिक प्रयास रहर, स्वाङ् मात्र हो । त्यसैले त डा. उपाध्याय निरन्तर गीत साहित्यमा डुबुल्की मारेर आफूभित्रको प्रतिभालाई रित्याउन चाहेको बताउँछन् ।

आनन्दको खोजीमा मानिस दशतिर भौतारिरहेको छ । तर, आफूभित्रै रहेको सुखको अनन्त स्रोतलाई उपयोग गर्नेहरूले स–साना कुराहरूबाटै खुसी लिन सक्छन् । दुःखको सामना गरेपछि नै सुखको वास्तविक मूल्यबोध हुनेगर्छ । कला सिर्जना जन्माउन पनि ठूलो अभ्यास र कठोर तपस्या जरुरी छ । डा. उपाध्यायको जीवनले गरेका संघर्षका किस्साहरू पनि बेहिसाब छन् । संघर्षका सयौँ पहाड छिचोलेर मिलेको उचाइ र सफलताले उनलाई अपार खुसीको तहमा पु¥याएको छ । पवित्र पथ र उन्नत उद्देश्य लिएर हिँडेपछि जस्तोसुकै कठिनाइमा पनि सुखानुभूति प्राप्त हुने उनको भनाइ छ ।
कलासाहित्यको भीडमा पृथक पहिचान :
कलासाहित्यको भीडमा अरुभन्दा पर बसेर पृथक पहिचान बनाएका उनी धेरैका लागि प्रेरणाको स्रोत पनि हुन् । उनका सिर्जना जति प्रेरक र मिठासपूर्ण छन्, उनको व्यक्तित्व पनि त्यत्तिकै शालीन र सौम्य छ । हँसमुख चेहरा, स्पष्ट बोली, सरल र निष्कपट व्यवहारले प्रभावित नहुने सायदै होलान् ।
सार्वजनिक व्यक्तिका निजी विषयको पनि चासो र चर्चा हुने गर्छ । साहित्यमा स्रष्टाले प्राप्त गरेको ज्ञान, जीवनका भोगाइ र सीपलाई कलात्मक शैलीमा उतारिएको हुन्छ । अत्यन्तै परिष्कृत र उन्नत विचारले समाजलाई पनि सही मार्गमा लाग्न प्रेरित गर्दछ । आफ्ना रचनामार्फत् समाजमा दिन खोजिएको सन्देशतर्फ पनि सर्जक उत्तिकै चनाखो हुनुपर्छ । डा. उपाध्यायका रचना र कृतिहरूमा सकारात्मक विचारको ढुकढुकी भेटिन्छ । उनीद्वारा रचित कैयन गीतको सङ्गीतवद्ध स्वर सुन्दा समाजका साथै राष्ट्रकै गौरव गाथामा टेवा पुगेको छर्लंग हुन्छ ।
हरेक मानिसलाई उसले भोगेको परिवेश, संस्कार तथा संस्कृतिले पनि ठूलो प्रभाव पार्छ । सामाजिक चेतनाको स्तर कहाँ छ त्यहीँ धरातलमा टेकेर मान्छेले आफ्ना धारणा र विचारको विकास गरिरहेका हुन्छन् । साधारण परिवेशमा हुर्केर पनि कोही भने विश्वमै नौलो काम गर्न उद्यत हुन्छन् । तिनै दुर्लभ व्यक्तिमध्ये डा. उपाध्याय पनि एक हुन् । उनले नेपाली कला साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन विभिन्न सार्थक प्रयास गरेका छन् । उनीबाट रचित दर्जनौँ गीतहरूले विश्व कीर्तिमान् राख्न सफल भएका छन् । गीत लेखेर एकपछि अर्को रेकर्ड राख्दै आफ्नो परिचयलाई विस्तार गरेका उपाध्यायका नामबाट नेपालले पनि गौरव गर्न पाएको छ ।
सानैदेखि आम मानिसका पीर व्यथा र आँशुमा आफू पनि अंशीयार हुन खोज्ने उपाध्यायलाई मान्छेले भोगका वेदना, रङ्गीन सपना र कठोर सङ्घर्षहरूलाई सिर्जनामा उतार्न रुचिकर लाग्छ । त्यसैले उनका रचनामा सामाजिक तस्वीरलार्ई सजीव रूपमा समेटिएको पाइन्छ । लेखनलाई नै आफ्नो जीवनको अभिन्न पक्ष ठान्ने साहित्यकार डा. उपाध्यायका समसामयिक रचनाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका दैनिक पत्रिकाहरूमा नियमितजसो प्रकाशित भइरहेका छन् । लेखनको केन्द्र विन्दु सामाजिक यथार्थतामा हुनुपर्छ भन्ने उनको मान्यता छ ।
उनका ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउण्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर, अनुभुतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर, हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल, धड्कन, आकाङ्क्षा, अभिभूत, अभिलाषा, आवृत’लगायत ३७ वटा एल्वम स्रोता÷दर्शकमाझ आएका छन् । यस्तै सबैभन्दा सानो गीतको पुस्तक (२ वाई २ इन्च)को गीतिसङ्ग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’ सबैभन्दा ठूलो गीतको पुस्तक २४÷३६ इञ्जको ‘अलौकिक’, एक लाइन अंग्रेजी र एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ पनि पाठकमाझ आइसकेको छ ।
गिनिज बुक वर्ल्ड रेकर्ड :
उनले आफ्नो साहित्य गीत रचना आदिको कर्मबाट गिनिज बुक अर्फ वल्र्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लन्डन युकेलगायत विभिन्न देशबाट वल्र्ड रेकडको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
एभरेष्ट वल्र्ड रेकड, स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, व्रिटिश वर्ल्ड रेकर्डजस्ता रेकर्डको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् । यतिबेला नयाँ गिनिजबुकको रेकर्डका लागि पनि काम भइरहेको उनी बताउँछन् ।
२८८ लाइनको गीतको सिर्जना :
उपाध्यायले नारी एवम् पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशष्टि नेपाली व्यक्तिहरूको नाम कामबारे बनाइएको गीत, साङ्केतीक भाषाको गीत, अक्षर अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्याधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नामबाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, एउटै गीतको स्थाई र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको, ५० अन्तर्राष्ट्रिय भाषामा गीत, एकैदिन धेरै राष्ट्रिय पत्रिकामा लेख प्रकाशन, विश्वको हाइ अलटिच्युटमा गीतको लाइभ प्रस्तुतिजस्ता विषयबाट डा. उपाध्यायले वल्र्ड रेकर्ड राख्न सफल भएका छन् ।
एकै दिनमा चार वटा गीत लेखी रेकर्ड :
यस्तै उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राको नाममा गीत–संगीत तयार गरेर, कदेखि ज्ञसम्मका प्रत्येक वर्णको गीत लेखी कीर्तिमान बनाएका छन् । यस्तै, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, आफ्ना २०० जति गीत हट एयर बेलुनमा उडाएर, १५० भन्दा बढी गीत चेसबोडमा लेखेर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत लेखी रेकर्ड गराएर विश्व रकेर्ड कायम गरेका छन् ।

उनले आफ्ना गीतहरू चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोस्टकार्डमा छापेर, सकारात्मक सोचमा फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएका छन् ।
कीर्तिमानी गीतकार उपाध्यायले नेपाली गीत सङ्गीतलाई विश्व बजारमा पुर्याउँदै गिनिज बुक, अमेरिकन वल्र्ड बुकसहित सबै वल्र्ड रेकर्डमा आफ्नो मात्र होइन नेपालकै गौरव बढाएको छ । उनी भन्छन्, ‘यो रेकर्ड मैले आफ्नो लागि मात्र नभई नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउनका लागि पनि गरेको हुँ ।’
‘हिरो २०१९’बाट सम्मानित :
नेपालको राष्ट्रिपतिबाट राष्ट्रिय विभूषणबाट विभूषित डा. उपाध्यायलाई ‘हिरो २०१९’बाट गीतकार सङ्घ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत–सङ्गीतका अवार्डमा पनि उनका प्रायजसो गीत पुरष्कृत हुन सफल हुने गर्दछन् । यस्तै उनलाई मुम्बईको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्डबाट पनि विभूषित गरिएको छ । त्यस्तै उनलाई विदेशका विभिन्न आठ विश्वविद्यालयले मानार्थ डा. उपाधि पनि दिएका छन् । ‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्ने उपाध्याय स्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने बताउँछन् ।
मिलनसार स्वभावका डा. उपाध्याय आफूभन्दा अग्रज स्रष्टाहरूको सम्मान गर्छन् भने अरु सबैलाई प्रेरणा र स्नेह दिन्छन् । जीवनको सक्रिय क्षणसम्म साहित्यमै समर्पित हुने उपाध्यायको अठोटलाई श्रीमती सुनिता खनालले पनि मलजल गरिरहेकी छन् । त्यस्तै, छोरा अङ्कित, बुहारी श्लेशा र छोरी ईशाको सहयोगले पनि उनको यात्रा थप उत्साहित बनेको छ । डीआर म्युजिक एन्ड क्रियशनमार्फत् उनले आफ्ना गीतहरू स्रोता÷दर्शकमाझ ल्याउने गरेका छन् ।
लेखक तथा साहित्यकारहरू समाजका गहना मात्र नभई पथप्रदर्शकसमेत हुन् । सिर्जनाले सर्जकलाई मृत्युउप्रान्त पनि जीवित बनाएको हुन्छ । लेखनमा नवीन विषयहरूको खोजी गर्ने डा. उपाध्याय स्रष्टाले आफ्नै भाषा–शैलीको निर्माण गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छन् । सरल भाषाशैली, अलंकार, बिम्ब, प्रतीकको सन्तुलित प्रयोगले सुन्दर उनका रचनामा विचारको पनि परिपाक भेटिन्छ । ती विचारहरू न रुढीग्रस्त परम्परागत चिन्तनले गाँजेका छन् न त आधुनिकतामा चुकेका छन् । बरु बदलिँदो समयको चेतनालाई डो¥याउँदै समुन्नत समाज निर्माणको परिकल्पना पाइन्छ । संख्यात्मक रूपमा त उनका रचनाहरू उल्लेखनीय नै छन् साथै गुणात्मक दृष्टिले पनि उत्तिकै अब्बल ठहरिएका छन् ।
डा. उपाध्यायका गीतमा विषयगत विविधता पाइन्छ । सबै वर्ग, पेशा र समुदायका विचार र विषयलाई उनले समेट्ने कोशिस गरेका छन् । उनका एल्बममा रहेका गीतमा माया प्रेम, रोमान्स, विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि छन् । उनका चाड–पर्वका गीतदेखि लिएर छोरी बिदाइ गर्दाका गीत, पर्यटन लाई लक्षित गीत, समाजमा रहेका नागरिकलाई स्वस्थ तथा निरोगी बनाउन योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत छन् ।
साहित्यमा विविध विधा र आयामहरूमा डुबुल्की मार्दै स्वरैकल्पना तथा यथार्र्थ वादी धारमा सलल्ल बग्न सक्ने सामाथ्र्य राख्ने डा. उपाध्याय चेतनाले ओतप्रोत प्राणयुक्त साहित्य सिर्जना गर्न उन्मुख छन् । जमिनमुिन परपरसम्म पुगेको जरा र झाँगीएको पिपलको विशाल रुख झैँ जिवन्त र आकर्षक हुनुपर्दछ साहित्य भन्ने उनको धारणा छ ।
कठोर साधना र दृढ संकल्प नै डा. उपाध्यायका प्रमुख अश्त्र हुन् । संघर्षका सयौं पहाड छिचोलेर साहित्य र गीतिविधामा यति धेरै विश्व कीर्तिमान बनाका छन् ।
नवौं मानार्थ विद्यावारिधी प्रदान :
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई हालै नवौं मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई युरोपको आइआइइचएसआर विश्वविद्यालयले विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यायलाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । विश्व विद्यालयका प्रतिनिधि जेम्स केरी र अन्य प्रतिष्ठित अतिथिहरूले डा. उपाध्यायलाई उक्त मानार्थ विद्यावारिधी प्रदान गरेका थिए ।
समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको नवौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि आठ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।
विश्वमा विरलै यस्ता व्यक्तित्वहरूको प्रादुर्भाव हुने गर्दछ । जसले दुर्भेद्य किल्लाहरूमा भेदन गर्ने असाधारण सामाथ्र्य राख्दछ । डा. उपाध्याय त्यस्तो व्यक्ति हो जसले साहित्य, कला, गीत–सङ्गीत र संस्कृतिको महत्ता र गरिमापूर्ण रहस्यलाई विश्वसामु उजागर गरेका छन् । साधनालाई सिर्जनामा परिणतगरी प्रविणता हाँसिल गरेका डा. उपाध्याय सिर्जनामा निरन्तर बगिरहेका छन् । उनीसँग थकाइ भन्ने शब्द नै छैन । जहिले हसमुख फुर्तिलो र नयाँ नयाँ क्रियशनमा आफूलाई तल्लिन राख्ने डा. उपाध्यायले यस क्षेत्रमा अझ कीर्तिमानका इटा थप्न निरन्तर लागिरहेका छन् ।
कीर्तिमानमार्फत विश्वमा गीत, संगीत, साहित्य र संस्कृतिलाई विश्वमा चिनाउने महान् पथमा लागेका उनी आफ्नै राजमार्गमा कुदिरहेका छन् ।
त्यसैले त जन्मिएका छन् नयाँ नयाँ विश्व कीर्तिमान । विश्व मानचित्रमा आफ्ना सिर्जनाको माध्यमबाट एकपछि अर्को विश्व रेकर्ड राख्दै अघिबढेका डा. उपाध्याय अहोरात्र, निरन्तर अथक पथिकमा रुपमा क्रियाशील छन् । एक अदभुत, असाधारण व्यक्तित्व डा. उपाध्याय यो उचाईलाई अझ अल्ग्याउन निरन्तर लागि पर्नुभएको छ । उहाँ हामी सबैको प्रेरणका श्रोत हुन् ।
प्रणय, रोमान्स, भावनात्मक, यातना, कष्ट, वैभव र ऐश्वर्यपूर्णलगायत जीवनका अनेकौँ आरोह–अवरोहका भुक्तभोगी डा. उपाध्याय जीवनलाई सृष्टिकर्ताको एक उत्कृष्ट नाटक र त्यही अदृश्य महाशक्तिलाई निर्माता–निर्देशकका रुपमा लिन्छन् । आफ्ना सिर्जनामार्फत् विभिन्न विश्व कीर्तिमान र बेहिसाब सम्मान तथा पुरस्कारले विभूषित उपाध्यायका पाइलाहरू निरन्तर अगाडि बढून् ।
