टीकापुर ५ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समिति कैलालीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का युवा उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेलाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ।
मङ्गलबार जारी प्रेस विज्ञप्तिमा वर्तमान राजनीतिक परिस्थितिलाई चुनौतीपूर्ण बताउँदै राष्ट्र निर्माण र समाजवाद उन्मुख यात्रालाई सुदृढ बनाउन विचार र सिद्धान्तमा नजिक रहेका उम्मेदवारलाई सहयोग गर्ने नीति अनुसार न्यौपानेलाई समर्थन गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा देश निर्वाचनको माहोलमा प्रवेश गरिसकेको उल्लेख गर्दै विभिन्न दलहरू आ–आफ्ना कार्यक्रम र एजेन्डासहित जनतामाझ गएको जनाइएको छ। राष्ट्रिय पुँजीको विकास, समाजवादी दिशातर्फको अग्रसरता र लोकतान्त्रिक प्रणालीको सुदृढीकरण साझा जिम्मेवारी भएको पार्टीको ठहर छ।
पार्टीले समानुपातिकतर्फ भने आफ्नै उम्मेदवारी कायम रहेको स्पष्ट गर्दै कार्यकर्ता तथा समर्थकलाई समानुपातिकतर्फ आफ्नो चुनाव चिह्न ‘हँसिया–हथौडा’ मा मतदान गर्न आग्रह गरेको छ। साथै प्रत्यक्षतर्फ न्यौपानेलाई सहयोग गर्न निर्देशन दिइएको छ।
जिल्ला समिति संयोजक प्रेमलाल चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यकर्तालाई अनुशासित र संगठित ढंगले चुनावी अभियानमा सक्रिय हुन आह्वान गरिएको छ।
यस निर्णयसँगै कैलाली क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धामा नयाँ राजनीतिक समीकरण देखिन सक्ने विश्लेषण गरिएको छ।
