काठमाडौ, ६ चैत ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार राति मध्य र पूर्वी नेपाल केन्द्रित वर्षा र हावाहुरी चल्ने संभावना आकलन गरेको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले लुम्बिनीका पूर्वी क्षेत्र, बागमती, मधेश र कोशीमा राति हावाहुरी तथा वर्षा हुने सम्भावना रहेको बताए ।
पछिल्लो एक घन्टामा बागमती, मधेशका केही क्षेत्र र कोशीमा पानी परिरहेको छ । पश्चिम नेपालका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।
‘दिउँसोबाट एक्टिभ भएको प्रणाली पूर्वतिर सिफ्ट भइरहेको छ । अपराह्नपछि लुम्बिनी र बागमतीमा ठुलो हावाहुरी चल्यो । राति मधेश लगायत क्षेत्रमा हावाहुरीको सम्भावना छ,’ पौडेलले भने, ‘शनिबार कोशी क्षेत्रमा हावाहुरी चल्ने देखिन्छ ।’
पौडेलले शनिबार ठुलो क्षेत्रमा वर्षा हुने सम्भावना नरहेको बताए । यद्यपि, कोशी, मधेश, बागमती, गण्डकी लगायतका क्षेत्रमा वर्षा हुनेछ । यसबाहेक अन्य क्षेत्रमा पनि बादल लाग्ने र हल्का पानी पर्ने देखिन्छ। यो प्रणाली शनिबार रातिबाट कमजोर बन्दै जाने आकलन गरिएको छ ।
