काठमाडौं, ६ चैत
कांग्रेस सभापति गगन थापाको राजीनामा रोक्न उपसभापति विश्वप्रकाश शर्माले सात बुँदे तर्कका अस्त्र अगाडि सारेका छन् । चुनावी पराजयबारे समीक्षा गर्न शुक्रवारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा शर्माले १४ पेज लामो समीक्षा प्रतिवेदन पेश गर्दै सभापति थापाको राजीनामा रोक्नुपर्ने सात तर्कसहितका प्रस्ताव राखेका छन् । थापाले पार्टी पराजयको नैतिक जिम्मेवारी लिदैं वुधबार राजीनामा दिएका थिए । बैठकका बोल्ने अधिकांश सदस्यले पनि थापालाई राजीनामा फिर्ता दिन सुझाव दिएका छन् ।
यस्तो छ, शर्माको प्रस्ताव ः
सभापतिको राजिनामा अस्विकृत गर्ने प्रस्ताव
राजनीतिमा ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको शुरुवाती सय दिनलाई । त्यो ‘वार्म अप’ को अवधिमा उसको कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परिक्षण र समग्र समिक्षा गर्न सकिन्न । त्यही कोणबाट समिक्षा गर्दा बिशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न, अनि प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पु¥याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न । त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभुत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै, यो बैठक स्थिति सम्हाल्ने गहन दायित्व, सबैभन्दा प्रधान नैतिक दायित्व ठहर गर्दै सभापति गगन थापाले आफ्नो पदबाट दिनुभएको राजिनामा अस्विकृत गर्ने निर्णय गर्दछ ।
पराजित भइरहँदा पनि
१) नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मुल नितिको विजय भएको छ । कांग्रेसले अंगिकार गरेको राजनैतिक र आर्थिक नितिका पछिल्तिर पुराना÷नयाँ सबै दल उभिन आइपुगेका छन् । वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थब्यबस्था अबको नेपालमा सबैको साझा मुलमार्ग बन्न पुगेको छ ।
२) नेपाली कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेन, तर दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार राजनैतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको छ । प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिक ज्ञद्ध पद्धतिको सुदृढीकरणलाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ पुग्नेछ । राम्रा कुरालाई साथ, खराबीमा खरो विमती कांग्रेसको रहनेछ ।
३) पराजय हुँदा पनि देशभर पार्टीपंक्ती हल्लिएको छैन । दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने उर्जा आम पार्टी सदस्यमा देखिएको छ । यो अत्यन्तै सकारात्मक छ ।
४) बिशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा उर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो । अतः पराजय व्यहोरेको भएपनि बिशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अब्यक्त मनोबिज्ञान र व्यक्त धारणा पाइएको छ ।
५) प्रतिकुल अवस्था बिच चुनावमा जाँदा परिणाम अनुकुल नआउनु अनौठो होईन । तर परिवर्तनको सन्देशले पार्टी पंक्तिमा उर्जा भरेका कारण पार्टी शुन्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ । पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन बौद्धिक क्षेत्रको यो समिक्षा र शुभभाव हाम्रो आगामी यात्राका लागि प्रेरक रहनेछ ।
६) उसबेला बिशेष महाधिवेशनसँग असहमत रहेपनि निर्वाचन पश्चात् अहिले त्यसभित्रको ठूलो पंक्तिमा ‘पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा एक्यवद्ध भएर पु¥याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ । पार्टी सबैको साझा हो, यही अभिमत सबैको साझा अभिष्ट पनि हो ।
७) बर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रुपमा प्रकट भइसकेको छ । अब यो विगत बनिसक्यो । अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पु¥याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ संकल्प र नयाँ विश्वासका साथ नवीन उर्जाले हामी अग्रसर हुनुछ ।
