काठमाडौं, ६ चैत ।
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई प्रहरीले बयान लिएको छ । अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याएको घटनामा प्रहरीले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीसँग बयान लिएको हो । भ्रष्टाचार मुद्दामा पुर्पक्षको लागी थुनामा रहेका अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतले कारागार कार्यालय डिल्लीबजारबाट प्रहरी कार्यालयमा झिकाएर बयान लिएका हुन् ।
बिहीबार र शुक्रवार अनुसन्धान अधिकृतहरूले अधिकारीसँग भिआईपी धम्क्याउन प्रकाश पाठकलाई ‘सुपारी’ दिएको बारेमा सोधपुछ गरेका छन् । प्रकाश पाठकलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो । अधिकारीसँग बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘उहाँसँग पनि हामीले सोधपुछ सुरु गरेका छौँ, अनुसन्धान सकिएको छैन ।’
भिआईपीलाई सामाजिक सञ्जालमार्फत धम्क्याएका पाठकले प्रदीप अधिकारीसँग रकम लिएको स्वीकार गरेका छन् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा अनियमितता भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरेर अदालतमा मुद्दा लैजाने सुराक पाएपछि अधिकारीले रकम दिएर पाठकलाई प्रयोग गरेर अख्तियार प्रमुख राईलाई धम्क्याउन लगाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।अधिकारीसँग आफूले २ करोड नगद लिएको पाठकले बयानमा स्वीकार गरेका छन् । तर, अधिकारीले भने सो तथ्य अस्वीकार गरेका छन् । दुई दिन सम्म सोधपुछ गर्दा अधिकारीले रकम दिएको कुरा अस्वीकार गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।पाठकलाई माघ २८ मा फिलिपिन्सबाट नेपाल ल्याइएको हो
