काठमाडौं, ७ चैत । एमालेका प्रभावशाली वरिष्ठ नेता सुरेन्द्र पाण्डेले एमालेलाई आधुनिक र शक्तिसाली पार्टी बनाउन तीन बुदे नयाँ रोडम्याप अघि सारेका छन ।
एमालेलाई पुनर्गठित र पुनर्जागृत गर्नुपर्ने आवश्यकता औंल्याएर लगातार पैरवी गरिरहेका पाण्डेले त्यस्तो नयाँ रोडम्याप अघि सारेका हुन ।
पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेका पाण्डेलाई २१ फागुनको चुनावमा नेतृत्वले टिकटसमेत नपत्याएका कारण देशभरका बहुसंख्यक कार्यकर्ताले उनीप्रती सहानुभुती दर्शाइरहेका छन । थुप्रै नेता-कार्यकर्ता डिजिटल पुजिवाद र अर्थशास्त्रको ज्ञाता पाण्डेले एमालेलाई अहिलेको सङ्कटबाट पार लगाउन सक्ने विश्वास पनि राख्छन ।
यस्तो छ पाण्डेले सामाजिक संजालमा राखेको एमालेलाई आधुनिक र शक्तिसाली बनाउने रोडम्याप :
“के अब एमाले पहिलेकै लयमा फर्किन्छ?” मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ। तर यसका लागि हामीले ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिनुपर्छ। अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ।
पहिलो, विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ।
दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्।
तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को-लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ।
